एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

छिनोफानो   शनिबार १४, चैत २०८२ ११:५७

काठमाण्डौ : एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 

उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक रगत जाँच, भिडियो एक्सरेलगायतका परीक्षणपछि भर्ना गरिएको अस्पतालले जनाएको छ । 

बिहान पक्राउ परेपछि पूर्वप्रधानमन्त्री ओलीलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट स्वास्थ्य परीक्षणका लागि महाराजगञ्ज लगिएको थियो । कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राख्नुअघि प्रहरीले स्वास्थ्य जाँच गराउने गर्छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बताउनुभयो । 

त्यस्तै आजै बिहान पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाण्डौको तीनकुनेमा रहेको एक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । ओली अस्पताल भर्ना हुँदा लेखकलाई महाराजगञ्जमा रहेको प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । 

आज बिहान प्रहरीले ओलीलाई गुण्डु निवासबाट र पूर्व गृहमन्त्री लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो । काठमाण्डौ प्रहरी परिसरका अनुसार आज शनिवार सार्वजनिक बिदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराएपछि बयान प्रक्रिया शुरु हुनेछ । 

काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यस्तै उच्च सतर्कताका लागि सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु