कैलाली ५ मा नेकपा उम्मेदवार आलेको चुनावी अभियान तीव्र, मतदाताको मायाले उत्साहित छु : आले

छिनोफानो   बुधबार ०६, फागुन २०८२ ११:२६

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं  ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । आज फागुन ६ गते उहाँले धनगढी उपमहानगरपालिका–३ पक्किकुवामा आयोजना गरिएको घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्नु भएको हो ।

घरदैलो अभियानका क्रममा उम्मेदवार आलेले स्थानीय मतदातासँग हातेमालो गर्दै त्यस क्षेत्रको विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सामाजिक सुरक्षाको विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्नु भएको थियो । उहाँले विगतमा आफूले निर्वाह गरेको जिम्मेवारी, बिगतमा गरेको बिकास र अनुभवका आधारमा कैलाली–५ लाई समृद्ध र नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने अठोट व्यक्त गर्नुभयो ।

“कैलाली–५ लाई कृषि, पर्यटन र साना उद्योगको केन्द्रका रूपमा विकास गर्न सकिन्छ,” उहाले स्थानीयसँगको संवादमा भन्नुभयो, “युवालाई विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्न रोजगारीमुखी कार्यक्रम ल्याइनेछ ।” उहाँले विशेष गरी किसानका समस्या, सिँचाइ अभाव, सडक स्तरोन्नति र स्वास्थ्य सेवाको पहुँच विस्तारलाईप्राथमिकतामा राख्ने उद्घघोष गर्नुभयो ।


कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानी, ढल निकास, कालोपत्रे सडक, विद्युत् विस्तार र युवाका लागि सीपमूलक तालिमको माग राखेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै आलेले संघीय सरकार र स्थानीय तहबीच समन्वय गरेर ती समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । साथै आलेले आफुलाई कैलाली क्षेत्र ५ का जनताको साथ सर्पोटले निकै उत्साह प्रदान गरेको बताए ।


घरदैलो कार्यक्रममा पार्र्टीका प्रदेश सांसद रमेश धामी, स्थानीय नेता बलबहादुर ऐर लगायत पार्टी कार्यकर्ता, युवा स्वयंसेवक तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नागरिकहरुले उम्मेदवार आलेसँग प्रत्यक्ष रूपमा आफ्ना गुनासा र अपेक्षा राखेका थिए ।राजनीतिक विश्लेषकहरूका अनुसार कैलाली–५ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।


उम्मेदवारहरूबीच विकास र स्थायित्वको मुद्दा केन्द्रमा रहेकाले मतदाताको आकर्षण बढ्दो छ ।कैलाली–५ मा चुनावी माहोल तातिँदै जाँदा उम्मेदवारहरूको सक्रियता र जनसहभागिताले यसपटकको निर्वाचनलाई थप चासोको विषय बनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु