धनगढी । कैलालीको चुरे क्षेत्रअन्तर्गत चुरे गाउँपालिका–४ स्थित अधेरी खोलामा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् भइरहेको अवस्थामा डिभिजन वन कार्यालय कैलालीको टोलीले पाँच जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीका क्रममा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ निकाल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरू विभिन्न स्थानका ट्याक्टर, टिप्पर र भ्याकु लोडर चालक रहेका छन्।
कार्यालयका अनुसार घटनास्थलबाट एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्याक्टर बरामद गरिएको छ। अवैध उत्खनन् नियन्त्रणमा लिन सवारी साधनसहित संलग्न व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले वातावरणीय परीक्षण तथा स्वीकृति बिना नदीजन्य पदार्थ उत्खनन् गर्नु कानुनविपरीत भएको स्पष्ट पारे। उनका अनुसार वन ऐनअनुसार यस्ता गतिविधिमा संलग्नलाई बिगोबमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
यसैबीच, सो क्षेत्रमा वन फँडानी र काठ तस्करीसमेत भइरहेको प्रारम्भिक तथ्य फेला परेको कार्यालयले जनाएको छ। चुरे क्षेत्रको संरक्षणका लागि निगरानी कडा पारिएको र दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने वन कार्यालयले चेतावनी दिएको छ।
प्रतिकृया दिनुहोस