सेती अस्पतालको ओएण्डएम २ वर्षदेखि मुख्यमन्त्री कार्यालयमा थन्कियो

हरिष बिक   सोमबार ०२, चैत २०८२ ०७:२५

धनगढी :  सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सेती अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिएको थियो। सेती अस्पताललाई २ सय शय्यामा स्तरवृद्धि गर्ने निर्णय भएपछि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेको हो।

२०७७ मा नै तीन सय शय्यामा स्तरवृद्धि गर्ने निर्णय गरेको सुदूरपश्चिम सरकारले पछि आएर एक सय शय्या घटाएर २ सय शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले बढीमा २ सय शय्याको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएण्डएम) समेत गरिएको थियो। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरेर निर्णयका लागि मन्त्रीपरिषद्मा पठाउन मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ। सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर चेतराज जोशीले २ वर्षदेखि ओएण्डएम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको बताए। उनले भने, ‘२ वर्ष अगाडि नीति तथा कार्यक्रममा जिल्ला अस्पतालहरुलाई ५० शय्या, सेतीलाई २ सय शय्या, टीकापुर र महेन्द्रनगरलाई एक सय शय्याको बनाउने भनेर स्टार्फ कलेजले सर्वेक्षण गरेको थियो। हामीले मुख्यमन्त्री कार्यालयमा फाइल बुझाएका छौ। तर, अहिले प्रदेश सरकार मातहतका सबै कार्यालयहरूको सर्वेक्षण गर्ने भनिएको छ।’

विक्रम सम्वत् १९९७ मा जिल्ला अस्पतालको रुपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो। २०६० सालमा सरकारले ५० शय्या सञ्चालनको स्वीकृति प्रदान गरेको थियो। त्यसबेपछि अस्पताल विकास समितिबाट थप ७५ शय्या सञ्चालनको निर्णय भएको थियो। हाल सेतीमा ३ सय बढी शय्या सञ्चालनमा छन्। तर कूल स्वीकृत दरबन्दी भने १०६ जनाको मात्रै छ। प्रदेश सरकारले भने २ सय शय्यामा स्तरवृद्धिको निर्णय गरेसँगै चिकित्सक, नर्सिङ, प्रयोगशाला, पारामेडिकल र प्रशासनिक गरि ४ सय दरबन्दी स्वीकृतिका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयमा फाइल पठाएको हो। तर, मुख्यमन्त्री कार्यालयले २ वर्षदेखि फाइल अड्काएको छ। तर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले फेरि सर्वेक्षणको तयारी गरेको छ। सुदूरपश्चिममा कार्यदल बनाएर सर्वेक्षण गर्ने बताउदै मुख्यमन्त्री कमलबहादुर शाहले एक समिति बनाउने बताए। उनले भने, ‘जेनजी आन्दोलनको समयमा नै सोच बनाएको थिए। अब हप्ता÷१० दिन भित्रमा समिति बनाउछु। संरचनागत कार्यालयहरूको सर्वेक्षण गर्छाै। रिपोर्ट दिन्छ, हामीले कार्यान्वयन गर्छाै।’

सेती प्रादेशिक अस्पतालमा अहिले कायम रहेको १०६ दरबन्दीमा ३१ जना चिकित्सक, २४ जना नर्सिङ कर्मचारी, ४ जना प्रयोगशालामा र ३ जना प्रशासनिक कर्मचारी कार्यरत छन्। यस्तै प्यारामेडिकलतर्फ ८ जना, कार्यालय सहयोगी ३२ जना छन्।  सेती अस्पताल २ सय शय्यामा स्तर वृद्धि भएसँगै सेती अस्पतालमा ११औं तहका ६ जना, नवौं र दसौं तहका ४६ जना, ८औं तहका ४४ जनासहित ९६ जना चिकित्सक हुनेछन्। यस्तै नर्सिङतर्फ १७४, प्रयोगशालातर्फ २०, पारामेडकलतर्फ ६१, प्रशासन र लेखा १२, मर्मत सम्भारतर्फ ६ र कार्यालय सहयोगी ५७ जनाको दरबन्दी हुनेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु