काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन। नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन।
यसअघि राष्ट्रपति पौडेलले शुक्रवार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित थिए। समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो। समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए।
रास्वपा वरिष्ठ नेता शाहलाई बिहीवार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो।
प्रतिकृया दिनुहोस