विमानस्थलमा एक्सरे मिसिन नभएपछि कार्गो व्यवसायीद्वारा सामान निकासी बन्द

छिनोफानो   सोमबार ०३, बैशाख २०८१ ०१:०९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिनाभन्दा बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए ।

कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको गुनासो गर्नुभयो । उहाँले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको जानकारी दिनुभयो ।

उहाँले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाउनु भयो । उहाँले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारबाट पूरै काम ठप्प पारेको बताउनु भयो ।

व्यवसायी सुवेदीले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गर्नुभयो । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपियाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको बताउनु भयो । उहाँले तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन । एकले अर्कोलाई आरोप देखाएर बसिरहेको बताउनु भयो ।

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।

गोरखापत्र अनलाइन

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु