स्वास्थ्य सञ्जालमा जोडिँदै कर्णालीपारिका बस्ती

छिनोफानो   बुधबार ०९, जेठ २०८१ १०:४३

बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीपारिको स्वामीकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै गएका छन् । पालिकाले प्रत्येक गाउँबस्तीमा प्राथमिक तथा सामुदायिक स्वास्थ्य एकाइ विस्तार गरेसँगै दुर्गम गाउँबस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै गएका हुन् ।

सामान्य बिरामी हुँदा उपचारका लागि चार दिन पैदल हिँडेर कोल्टी प्राथमिक स्वास्थ्य संस्थामा आउने यहाँका स्थानीयले पछिल्लो समय सबै सेवा गाउँमै स्थापना गरेका स्वास्थ्य संस्थामा लिने गरेको स्वामीकार्तिक खापर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउनकै लागि दुई/चार घण्टाको बाटो हिँडेर स्वास्थ्य चौकी आउने गरेको थिएँ, अहिले गाउँमै स्थापना गरेका स्वास्थ्य संस्थामा खोप सञ्चालन गरेपछि समस्या हट्दै गएको स्वामीकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवती महिला गर्भजाँच गर्नका लागि कोल्टी जानुपर्ने समस्या थियो । अहिले गाउँमै अल्ट्रासाउन्ड सेवा सुचारु गरेपछि महिलाकोे त्यो समस्या हटेको छ ।” कर्णालीपारिका दुर्गम गाउँबस्तीका स्थानीयको स्वास्थ्य उपचारका लागि प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरेको शाहीले बताउनुभयो । बिरामी हुँदा हिँडेर कोल्टीमा जानु पथ्र्यो । अहिले गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि त्यो समस्या हटेको स्वामीकार्तिक गाउँपालिका–२ की विनीता विकले बताउनुभयो ।

गाउँघरमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य सम्बन्धीत विभिन्न जनचेतना फैलाउँदै गएपछि गर्भवती भएका महिलाले बेला बेलामा लगाउनुपर्ने सबै प्रकारका खोप तथा गर्भजाँच गर्दै आएको विकले बताउनुभयो । केही वर्षपहिला दुई/चार वटा स्वास्थ्य चौकी मात्र रहेको यो पालिकामा अहिले तीन वटा स्वास्थ्य चौकी, दुई वटा प्राथमिक आधारभूत स्वास्थ्य केन्द्र र चार वटा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र गरी नौ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । केही वर्षपहिला स्वास्थ्यकर्मीको अभावमा काम गर्न समस्या हुने गरेको यो पालिकामा पछिल्लो समय पारामेडिकल १९, स्टाफ नर्स १६, ल्याब असिस्टेन्ट तीन, कार्यालय सहयोगी १२ र स्विपर छ गरी ५१ जना कर्मचारी रहेका छन् । 

पालिकाले यी सबै प्रकारका समस्या हट्ने गरी प्रत्येक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकमा रकम विनियोजन गर्दै आएपछि दुर्गम गाउँबस्तीका स्थानीयलाई सहज भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य हो, अहिले यहाँका दुर्गम गाउँबस्तीको शिक्षा स्वास्थ्यको क्षेत्रमा निकै परिवर्तन भएको छ ।” सामान्य खालको रोगलाई गाउँमै उपचार गर्ने र त्योभन्दा बढी जटिल खालको रोगलाई निको पार्ने गरी प्रत्येक वर्ष विशेषज्ञ डाक्टर गाउँमै ल्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु