महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

छिनोफानो   बुधबार ०२, साउन २०८१ ०४:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना  बडाल महान्यायाधिवक्ता थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् ।

श्रम कानूनका ज्ञाता रहेका बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानून विभागका प्रमुख हुन् ।

महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हुन् । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बनेका थिए ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु