आज पाँचवटा संसदीय समितिका बैठक बस्दै

छिनोफानो   बिहिबार ०३, साउन २०८१ १०:२७

 

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दै छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । 

शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यस्तै, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्य योजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु