पूर्वन्यायाधीश फोरमले भन्यो– प्रधानन्यायाधीशको आचरणमा गम्भीर शंका

छिनोफानो   शुक्रबार ०५, कार्तिक २०७८ ०३:१४

काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको निष्कर्ष निकालेको छ ।

फोरमका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “गठबन्धनमा प्रधानन्यायाधीश मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एशोसियसनतर्फबाट समेत भएको विरोधको वावजूद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषदमा समावेश गराइनु र चर्को विरोधपश्चात् मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।”

राजनीतिक प्रकृतिका अनेकौं संवैधानिक विवादहरु सर्वोच्च अदालतमा विचाराधीन रहेको र यस्ता प्रकृतिका विवादहरु निरन्तर आइरहने तथा कतिपय विवादहरु प्रधानन्यायाधीशकै इजलासले निर्णय सुनाउन बाँकी राखिएको अवस्थामा प्रधानन्यायाधीश र राजनीतिक दलहरुबीचको भागबण्डाको सौदावाजीको कुरा बाहिरिनुले न्यायापालिकाप्रतिको जनआस्थामा नै गम्भीर खतरामा पर्न गएको उल्लेख छ ।

विज्ञप्तिमा न्यायापालिकाको स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयमले निकास दिनु यथोचित हुन सक्ने भन्दै यो वाञ्छनीय र अनिवार्य पनि देखिएको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ–तर प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइउन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौँ ।”

साथै न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरुलाई अगाडि आउन पनि अनुरोध गरिएको छ । “न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयम् न्यायाधीशहरुको नै हो भनी हामी पूर्वन्यायाधीशहरु स्मरण गराउन चाहन्छौँ ।”

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु