यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यमा असर गर्ने

छिनोफानो   बुधबार २४, पुष २०८१ ०२:००

यसपालिको हिउँद पनि सुक्खा हुने जोखिम बढेको छ । अघिल्ला दुई वटा हिउँद पनि सुक्खा भएका थिए । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरेकोमा पुस सकिन लाग्दा पनि धेरै ठाउँमा हिउँदे वर्षा भएकै छैन । पहाडी, उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट वर्षा र हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा भएकै छैन ।

नेपालमा हिउँदे वर्षा गराउने अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायु दुवैमा जलयुक्त वाष्पकाे कमी भएकोले वर्षा हुन नसकेको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो ।

नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्राेत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरण गर्छ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय ठाउँमा मूल फुट्न नै नसक्ने हुन्छ ।

यस्तै हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । यसले वायु प्रदूषण पनि बढाउँछ । हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष असर गर्ने जलवायु विज्ञ उप्रेती बताउनुहुन्छ ।

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्राेतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषि

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउजस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन जसले खाद्य सङ्कट निम्त्याउँछ । नेपालमा धान मकैपछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरूपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिँचाइभन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।

जलवायुविज्ञ डा. उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गर्नुभयो । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने सङ्कट व्यवस्थापन गर्न नसकिने खालको हुने उहाँले बताउनुभयो ।

हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र अर्थतन्त्रमा पर्छ । कृषिमा आश्रित हुने समुदाय वा अझ आफूले खानका लागि मात्र उत्पादन गर्ने किसान चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइसम्मका समस्या निम्त्याउन जाेखिम छ । केही वर्षयता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु