वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ ।
आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले भिडियो सिस्टम जडानका लागि सबै स्थानीय तहलाई आग्रह गरिसकेको जानकारी दिए ।
पौडेलले भने, ‘मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै अनुगमन गर्ने उद्देश्यले हरेक मतगणना स्थलमा मतगणना स्थल दृष्य अनुगमन प्रणाली र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।’
यस्तै आयोगले चैत ९ देखि १७ गतेसम्म राजनीतिक दल र सरोकारवालासँग नेपाल कानुन समाजसँगको सहकार्यमा सात प्रदेश र १५ जिल्लामा आचारसंहिताबारे छलफल गर्ने पनि निणर्य गरेको छ । आयोगले सुरक्षा व्यवस्थापन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । गोरखापत्र दैनिकबाट
प्रतिकृया दिनुहोस