धनगढी । कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित ७ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भित्री सडकखण्डबाट ३ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटा घर भई हाल धनगढी–१ बस्दै आएका २७ वर्षीय सुनिल चौधरी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।
त्यसैगरी धनगढी उपमहानगरपालिका–१३ बाट १७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही स्थानका २७ वर्षीय बलबहादुर चौधरी पक्राउ परेका छन्। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, बर्दगोरिया गाउँपालिका–२ बौनियाँगाउँबाट १ ग्राम २७० मिलिग्राम लागूऔषधसहित स्थानीय २७ वर्षीय सुनिलकुमार चौधरी र २७ वर्षीय रति राम थारु पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा पदार्थ फेला पारेको जनाएको छ।
धनगढी–१३ राजपुरबाट २७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका–३ बस्ने २४ वर्षीय बिनोद ओड पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, गोदावरी नगरपालिका–३ ग्यास कम्पनी नजिकबाट ७५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नापतौल गर्ने तराजुसहित सोही स्थानका २७ वर्षीय अनुज रावत र गोदावरी–११ बस्ने २७ वर्षीय मोहन वडैला पक्राउ परेका छन्। लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले चेकजाँच गर्दा पदार्थ र तराजु बरामद गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस