धनगढी । एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदै गएको बताए । उनले भने, “औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ ।”
सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ । यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन् ।
सङ्क्रमितले हरेक दिन औषधि खानुपर्छ । पछिलो तथ्याङ्क (२०७९–८०) का अनुसार सुदूरपश्चिममा एचआईभीबाट सङ्क्रमित भएको अनुमान गरिएका पाँच हजार एकसय ९० मध्ये चार हजार सात सय १७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ ।
तीन हजार ६ सय २३ जनाले एआरबि (एन्टिरेक्टो भाइरल) औषधि खाइरहेका छन् भने दुई हजार आठसय ६३ जनाको ‘भाइरल लोड सुप्रेस’को अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले भने, “यो रोगको उपचार हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ, पहिलेको भन्दा प्रभावकारी औषधि बनेकाले यो रोग नियन्त्रणमा टेवा पुगिरहेको छ ।”
सरकारले समुदायको नेतृत्वमा यो रोग अन्त्य गर्ने लक्ष्य लिएको छ । रोकथामका लागि अघि सारिएको रणनीतिअनुसार यो रोगको अन्त्य गर्नको लागि ‘९५ प्रतिशत, ९५ प्रतिशत, ९५ प्रतिशत’ अभियान सञ्चालन गरेको छ ।
सन् २०३० सम्म एड्सलाई अन्त्य गर्नको लागि राष्ट्रिय एचआईभी रणनीति योजना २०२१–२०२६अघि सारिएको छ । सुईद्वारा लागुपदार्थको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क गर्नेहरु यो रोग सङ्क्रमणको बढी जोखिममा रहने गरेका छन् ।
प्रतिकृया दिनुहोस