धनगढी । सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र ६५३ महिला गरी एक हजार ८४८ नयाँ मतदाता थपिएका छन् । यस्तै कञ्चनपुरमा पुरुष एक हजार ५३ र महिला ५४० गरी एक हजार ५९३ नयाँ मतदाता थपिएको निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
यसै गरी डडेलधुरामा पुरुष १२६ र महिला ६५ गरी १९१, डोटीमा पुरुष १७० र महिला ७५ गरी १९१ नयाँ मतदाता थपिएका छन् । बैतडीमा पुरुष २९३ र महिला १५५ गरी ४४८, अछाममा पुरुष ४१४ र महिला २११ गरी ६२५ नयाँ मतदाता थपिएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यस्तै बझाङमा पुरुष ३६३ महिला १७९ गरी ५४२ जना, बाजुरामा पुरुष २१९, महिला १२२ र अन्य दुई गरी ३४३ नयाँ मतदाता थपिएका जनाइएको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । जेनजी बलिदानपछि हुन लागेको आमनिर्वाचनका लागि जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । मतदाता नामावली दर्ता गराउनका लागि उत्साहजनक रूपमा मान्छेहरू आइरहेको निमित्त प्रमुख जोशीले जानकारी दिनुभयो ।
“मतदाता नामावली दर्ता गराउनेको भिड अझै कायमै छ,” उहाँले भन्नुभयो, “हामी बेलुका ६ बजेसम्म अफिस खोल्ने गरेका छौँ ।” कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य हुने छ ।
निर्वाचन तयारीमा दलहरू
खलङ्गा समाचारदाताका अनुसार सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन यहाँका राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
दलहरू पार्टीका गाउँ र वडास्तरका सङ्गठनलाई सक्रिय बनाउने कार्यमा लागेका हुन् । नेपाली कांगे्रस जिल्ला कार्य समिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीका अनुसार कांग्रेसले वडा समितिमार्फत नयाँ मतदातालाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह र सहयोग गरिरहेको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पनि गाउँ कमिटीमार्फत क्रियाशील सदस्य र मतदातालाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरिरहेको बुझिएको छ ।
कांग्रेसले केन्द्रको परिपत्र अनुसार गाउँ समितिमार्फत मतदाता र सदस्यता अपडेट गर्ने कार्यको सुरुवात गरेको सचिव कार्कीले बताउनुभयो । निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल गर्न बिहीबार पार्टीको जिल्ला बैठक बस्ने पनि उहाँले बताउनुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय समितिका सचिव विनोदसिंह कुँवरका अनुसार पार्टीको आधिकारिक निर्णय नभए पनि गाउँस्तरमा सङ्गठन र कार्यकर्तालाई क्रियाशील बनाउने कुराको तयारी भइरहेको छ ।
पार्टी एकता भएको छ अब बृहत् रूपमा निर्वाचनको तयारीमा लाग्ने उहाँले बताउनुभयो । दार्चुला एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य नगेन्द्रसिंह तिङ्करीका अनुसार पार्टीले कात्तिक २५ गते पालिकास्तरमा र कात्तिक २९ गते जिल्लास्तरमा आमसभाको आयोजना गर्ने तयारी गरिरहेको छ । निर्वाचन हुनेमा आफूहरू ढुक्क नभएको भन्दै तत्काल निर्वाचनसम्बन्धी कुनै पनि तयारीमा नलागेकोे जिल्ला सचिव उमेश जोशीले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सदस्यता वितरण तथा मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्तालाई प्रेरित गराइरहेको जिल्ला संयोजक राजेशसिंह सामन्तले बताउनुभयो । यसैबिच दार्चुलामा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह देखिएको छ ।
प्रतिकृया दिनुहोस