काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ।
सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।
उक्त खेलमा नेपालका सुवास भण्डारीले सम्झन लायक बलिङ गर्दै ५ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन र कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य ब्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।
प्रतिकृया दिनुहोस