बाजुरामा परम्परादेखि सञ्चालन हुँदैआएका घट्ट पछिल्लो समय लोप हुँदैगएको छ । गाउँबस्तीमा बिजुली बत्ती पुगेसँगै घट्ट लोप हुँदै गएको हो ।
पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फापरलगायतका अन्न पिस्न प्रयोग गर्ने घट्टलाई पछिल्लो पुस्ताले चासो नदेखाउँदा बिस्तारै लोप हुन थालेको स्थानीयको भनाइ छ ।
गाउँमा बिजुली बलेसँगै खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदैगएको खप्तड छेडेदह गाउँपालिका –२ जयवाग्यश्वरीका स्थानीय दले नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले अन्न पिस्न निकै प्रयोग हुने ती घट्ट अहिले खोलामा जीर्ण अवस्थामा छन् ।”
पहिले खोलामा चल्ने पानी घट्ट अहिले सञ्चालनमा नल्याउँदा गाउँका अधिकांश स्थानीयको रोजगारी समेत खोसिएको रोकायाले बताउनुभयो । पहिले गाउँका अधिकांशले गाउँनजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छाडेर परिवार पाल्ने गर्थे ।
यहाँका स्थानीयले खोलाको पानीबाट चल्ने घट्टमा अन्न पिस्न छाडेर अहिले मिलबाट पिसानी गर्न थालेपछि घट्ट सञ्चालकको व्यवसाय धरापमा छ । अहिले गाउँमा विद्युत बलेसँगै हुनेखानेले मिल सञ्चालन गरेपछि पानी घट्टमा अन्न पिस्न कोही नआउने गरेकाले पुस्ताले छोडेर गएको व्यवसाय सङ्कटमा पर्न थालेको नेपालीले बताउनुभयो ।
जिल्लाको स्वामिकार्तिक, हिमाली, जगनाथ, गौमुल, छेडेदह, त्रिवेणी, बडिमालिका र बूढीगङ्गा नगरपालिका लगायतका विभिन्न ठाउँमा सञ्चालन भएका अधिकांश पानी घट्ट अहिले प्रयोगविहीन छ ।
गाउँमै मिल सञ्चालन हुन थालेपछि पानी घट्ट प्रयोगविहीन भएको बूढीगङ्गा नगरपालिका –१० तिमाडाका पाउँना सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला अन्न पिसानी गरिदिएबापत धुलो लिने गथ्र्यौं । अहिले मिल सञ्चालक धुलो नलिएर पैसा लिने गर्छन् । पैसा हुनेका लागि त ठिक हो । तर पैसा नहुनेका लागि भने समस्या हुनेगरेको छ ।”
पहिला ५ पाथी अन्न पिस्नु परेमा एक किलो धुलो घट्ट पीसेवाफत भगारोलाई दिनु पर्दथ्यो, अहिले मिलमा पिसानी गरेबाफत प्रतिकिलोको चार रुपियाँ तिर्नुपरेको सार्कीले बताउनुभयो । पहिला पानी घट्टमा अन्न पिसानी गर्न जाँदा तुरुन्त पिसेर घरमा आउने गरेका यहाँका स्थानीय अहिले मिलमा लाइन बस्न बाध्य छन् ।
घट्टमा पिसेको धुलो र मिलमा पिसेको धुलोमा धेरै भिन्नता रहेको यहाँका स्थानीयको भनाइ छ । मिलमा पिसेको धुलोभन्दा घट्टमा पिसेको धुलोमा राम्रो स्वाद आउनेगरेको स्थानीय वयोवृद्ध तारा नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा पहिलेदेखि सञ्चालनमा आएका पानी घट्टलाई पुन सञ्चालन गर्न आवश्यक छ ।”
प्रतिकृया दिनुहोस