मुख्यमन्त्री सोडारीले आज शुक्रबार विश्वासको मत लिँदै

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ११:२३

धनगढी, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य रहे पनि सो पार्टीको आन्तरिक किचलोका कारण दुई जनाले मात्रै मुख्यमन्त्रीलाई समर्थन गर्नुभएको थियो । उहाँलाई समर्थन गर्नुभएका नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापा दुवै जना मन्त्री नियुक्त भइसक्नुभएको छ । मुख्यमन्त्रीले गएको मङ्गलबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री थपे पनि सरकारले अझै पूर्णता पाइसकेको छैन । विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । यस प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । 

पछिल्लो पटक बझाङमा भएको उपनिर्वाचनमा नेकपा (एमाले) को जितले मुख्यमन्त्री सोडारीको पक्षमा सहज रूपमा बहुमत पुगेको छ । गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य रहनुभएको छ ।

एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीलाई २८ जना प्रदेश सभा सदस्यको समर्थन देखिएकाले उहाँको पक्षमा बहुमत पुग्ने देखिन्छ । उहाँलाई उन्मुक्तिका सातै जना प्रदेश सभा सदस्यले मत दिने सम्भावना रहेको पनि बताइन्छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु