धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशको औचित्य देखिने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँहरूले प्रदेश संरचनाप्रति जनताको असन्तुष्टि बढिररहेकाले प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
सत्तारूढ दल नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामीले अहिलेको प्रणाली, व्यवस्थालाई बचाउनका लागि सबै दलले विशेष छलफल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेशलाई बदनाम हुनबाट जोगाउन र राजनीतिक चरित्रलाई बचाउनका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि बेलैमा कोसिस नगर्ने हो भने पछि अहिलेको भन्दा खराब स्थिति हुने छ ।”
सत्ता गठबन्धन दल नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारले केही महत्वपूर्ण काम गरे पनि त्यसको चर्चा हुन नसकेको बताउनुभयो । शिक्षा, स्वास्थ्यको सबलीकरणमा चुनौती देखिएको औँल्याउँदै उहाँले भन्नुभयो, “यसलाई प्रादेशिक नीति अनुरूप अगाडि बढाउन जरुरी छ ।” रावलले पारदर्शितालाई आत्मसात् गरेर काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
यसै गरी सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक रामेश्वर चौधरीले सरकारलाई आफ्नो संयन्त्र चलायमान बनाउन आग्रह गर्नुभयो । संसदीय समितिहरू चलायमान हुन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमा गरिबी बढेको छ । खाद्य सम्प्रभुतालाई प्रदेश सरकारले अगाडि बढाउन सकिरहेको छैन । कृषिका लागि गुरुयोजना बनाएर काम गर्न आवश्यक छ ।”
सरकारको आलोचना
प्रदेश सभा बैठकमा प्रतिपक्षी दलले प्रदेश सरकारको आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता मानबहादुर धामीले प्रदेशको राजधानी घोषणा गरेको कैयौँ वर्ष बिते पनि राजधानीबारे प्रदेश सरकार बेखबर रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश राजधानीलाई कार्यान्वयन गर्ने वा नगर्ने विषयमा सरकारले केही बोलेको छैन । यो सरकारलाई आफ्नो थातथलो कहाँ हो भन्ने नै थाहा छैन ।”
उहाँले सदन छलेर सरकारले नियमावली ल्याउने काम गरिरहेको आरोप लगाउँदै सरकारले गठन गर्ने नियमावली सदनमा ल्याएर समितिमा छलफल गरी पास गराउन आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता प्रकाश रावलले पाँच महिनासम्म सरकार हराएको जिकिर गर्नुहुँदै प्रदेश सरकारले बिजनेस दिन नसक्दा धेरै समयपछि सदन चलेको बताउनुभयो । प्रदेशको औचित्य छैन भन्ने वातावरण निर्माण गर्ने कार्य सरकारले नै गरिरहेको आरोप लगाउँदै उहाँले प्रदेशको औचित्य देखाउनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
राप्रपाको दलका नेता खेमादेवी विष्टले सरकारका कारण सबै बदनाम हुने अवस्था आएको बताउनुभयो । स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले काम गर्नका लागि सरकारको आफ्नो कार्यतालिका हुनुपर्ने जोड दिनुभएको छ ।
यसैबिच सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सचिवालयका सचिवलाई निर्देशन दिनुभएको छ । प्रदेश सभा अन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त रहेको छ ।
यसअघि सभापतिको निर्वाचन घोषणा गरिए पनि दलबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो । सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनुभएको छ ।
प्रतिकृया दिनुहोस