काठमाण्डौ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आज मेची राजमार्ग र तमोर करिडोरमा गाडी चल्न सकेका छैनन् ।
मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका सङ्घ–संस्थाले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने मागसहित मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका हुन् ।
बन्द आह्वान गरिएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । त्यस्तै तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मूलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ ।
पाथीभरामा गएको शनिवार ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।
विवाद र घटनाबारे गृहमन्त्री रमेश लेखकले बेलुका ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधिसभा सदस्य (सांसद) सँग छलफल गर्ने तयारी गर्नुभएको छ । पाथीभरामा गएको कात्तिक २३ गतेदेखि केबलकार निर्माणको काम शुरू गरिएको थियो ।
प्रतिकृया दिनुहोस