बैतडी सदरमुकामका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सयौँ घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित भएका छन् । बैतडीको सदरमुकामको दशरथ चन्द नगरपालिका–४ को गोठालापानी, सपराली, पारिबवेत, ज्यूताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन नलाग्दा नेटवर्कको खोजीमा स्थानीय डाँडातिर उक्लिने गरेका छन् ।
खोलीजर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताउनुभयो । दशरथचन्द नगरपालिका–४ कै पारिबवेत गाउँमा फोनको नेटवर्कले काम नगर्दा समस्या भएको स्थानीवासी महेश वडले गुनासो गर्नुभयो ।
सदरमुकाम आसपासकै गाउँमा फोन नलाग्ने समस्याका बारेमा गुनासो आउने गरेको नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको गुनासो सम्बोधन गर्न दशरथ चन्द नगरपालिका–९ को सन्तोकी डाँडामा टावर निर्माण गर्ने तयारी भएको छ । टावर निर्माण ढिलो भए यो आर्थिक वर्षमा १०/१२ मिटर अग्लो पोलमा उपकरण जडान गरेर भए पनि फोन लाग्ने बनाउछौँ ।”
उहाँले जिल्लाका अन्य धेरै ठाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगरेको गुनासो आउने गरेकोमा सबै गुनासो सङ्कलन गरेर केन्द्रमा पत्राचार गर्ने गरेको बताउनुभयो ।
बैतडी सदरमुकाममा ४७ वर्षअघि सर्वसाधारणको पहुँचमा ल्यान्डलाइनको टेलिफोन सुविधा पुगेको थियो । विसं. २०६४ पछि स्काइ फोन र नमस्तेको फोन सेवा गाउँमा विस्तार गर्न खोजिए पनि जिल्लाका अधिकांश ठाउँमा नेटकर्वले काम गर्दैन । जिल्लाका १० स्थानीय तह र ८४ वडाका सबै गाउँमा अहिले पनि सञ्चार सुविधा पुग्न सकेको छैन ।
भारतसित सीमा जोडिएका बैतडीको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अझै नेपाल टेलिकमको नेटकर्वकले काम नगर्दा भारतीय सिमको प्रयोग हुने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । त्यसै गरेर जिल्लाको सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन । सिगास गाउँपालिका–१ को बेसरा टोलमा बादल लागेको दिन नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीयको गुनासो छ । गोरखापत्र
प्रतिकृया दिनुहोस