रानीजमरा–कुलरियाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

छिनोफानो   बुधबार १६, माघ २०८१ ११:४७

टीकापुर । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । सिँचाइको आयोजनाको जानकी गाउँपालिका–९, कटाँसेस्थित विद्युत् गृहमा तीन वटै टर्वाइन चलाएर पूर्ण क्षमता (४.७१ मेगावाट) मा विद्युत् उत्पादन गरेको निर्माण कम्पनी एसइडब्लु–टुन्डी जेभीका आयोजना व्यवस्थापक उदय पोखरेलले जानकारी दिनुभयो । 

विद्युत् आयोजना निर्माण गरिसक्नुपर्ने अवधि २०७८ चैतसम्म भए पनि २०७८ कात्तिकमा आएको बाढीले संरचनामा क्षति पुर्‍याएपछि २०८१ पुस २९ सम्मलाई म्याद थपिएको थियो ।  यसअघि निर्माणकै चरणमा २०८० माघ १६ गतेदेखि उत्पादन सुरु भएको विद्युत् लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । 

“निर्माणकालमा बेला बेला समस्या भई केही समय विद्युत् बन्द पनि भयो,” सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले भन्नुभयो, “एक वर्षमा जम्मा ११ गिगावाट आवर विद्युत् उत्पादन भएको छ । विद्युत् प्राधिकरणले तोकेको दर अनुसार हिउँदमा प्रतियुनिट ८.४० पैसा र वर्षामा ४.८० पैसाका दरले आठ करोड जति 

भएको छ ।”कुल दुई अर्ब लागतमध्ये एक अर्ब पाँच करोड रुपियाँ विद्युत्गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भएको छ । जलविद्युत् आयोजनाको निर्माण एसइडब्लु–टुन्डी जेभीले गरेको हो भने मेकानिकल कार्य भारतको मेकामिडीबाट गराइएको हो ।

सिँचाइ र विद्युत्सँगै तराईमा निर्माण भइरहेको नहरमै विद्युत् उत्पादन गरिएको हो । यो आयोजनबाट सिँचाइ विद्युत् उत्पादन एकसाथ हुने भएको छ । कर्णालीबाट मूल नहरमा आउने एक सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी छ किलोमिटर पश्चिम पुगेपछि बालुवा छान्न कर्णालीमा खसालिएको छ । ८० क्युमेक्स पानी सिँचाइ र विद्युत् उत्पादनमा प्रयोग हुने छ । लम्की शाखा नहरमा सिँचाइका लागि पानी पठाउँदा भने विद्युत्गृहमा ६० क्युमेक्स पानी आउँदा उत्पादन घटने छ । 

आयोजनाका विभिन्न शाखा नहरबाट कैलालीको ४० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको आयोजनाको दुई चरणका काम सकिएका छन् भने बाँकी कामका लागि दोस्रो चरणको तयारी भइरहेको आयोजनाले जनाएको छ । 

निर्माणको चरण सकिए पनि विद्युत् आयोजनाको सञ्चालनको मोडालिटी तय नभएका कारण कसलाई कहिले हस्तान्तरण गर्ने टुङ्गो लागेको छैन । उपभोक्ताले भने विद्युत्को सञ्चालक समितिमा प्रतिनिधित्व, मुनाफाको १० प्रतिशत वा सेयर मोडलमा गए निःशुल्क सेयर पाउनुपर्ने रानीजमरा–कुलरिया मूल कुला समितिका सचिव परशुराम महत्तो बताउनुहुन्छ । 

हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सञ्चालन कार्यविधि तयार गरिरहेको र कार्यविधि तयार भएपछि उद्घाटन गरिने आयोजनाले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु