अछाम । सात महिनाअघि अछाम र दैलेखबिचको कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चड गइरहेका बेलामा लट्ठा चुडिँयो । पुल चुँडिएर अड्किएका खच्चडलाई कर्णाली नदीमा खसालेर उद्धार गरियो तर चुँडिएको पुल हालसम्म पुनर्निर्माण गरिएको छैन । यसको निर्माणको बहस स्थानीयदेखि संसद्सम्मै पुग्यो । गत जेठमा लट्ठा चुँडिएको खिड्कीज्युलाको पुल हालसम्म मर्मत भएको छैन । सो पुल मर्मत नहुँदा अछाम र दैलेखका स्थानीय सास्ती भोगिरहेका छन् ।
“दुई जिल्ला जोड्ने पुल भए पनि हाम्रो सबै घरव्यवहार वारिपारि हुन्छ, दैलेखतिरका केटाकेटी यता पढ्न आउँछन्, यताका हामी उपचार र खाद्यान्न किन्न पारि (दैलेख) जान्छौँ,” पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडाका भरत साउदले भन्नुभयो ।
पुल मर्मत नहुँदा विद्यालय जाने छात्रछात्रा, बिरामीलाई उपचार गर्न, दैनिक उपभोग्य सामग्री र अन्य कामका लागि आवतजावतमा ठुलो समस्या आएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले आवतजावतमा रोक लाएको पुलमा स्थानीय जोखिमपूर्ण रूपमा बाध्यतापूर्वक पुल प्रयोग गरिरहेका छन् ।
लट्ठा चुँडिएको पुलभन्दा तल निर्माण गरिएको पुलमा आवतजावत गरेर विद्यालय र गाउँ पुग्न तेब्बर समय लाग्ने गरेको बताइएको छ । पुल चुँडिनुभन्दा पहिला विद्यार्थी १०/१५ मिनेटमै विद्यालय पुग्ने विद्यार्थीलाई करिब एक घण्टा समय लाग्ने गरेको स्थानीयको भनाइ छ । पुल मर्मतको अभाव र अर्को पुल टाढा भएकाले १० जना जति साना छात्रछात्रा विद्यालयमा जेठदेखि अनुपस्थित भएको चण्डिका मावि कालेकाँडाका प्रधानाध्यापक कलम शाहीको भनाइ छ ।
चुँडिएको पुलभन्दा तल करिब एक किलोमिटर टाढा अर्को पुल दैलेखतिरको छेउमा नैनेल देवताको मन्दिर भएका कारण महिनावारी भएका महिला तथा किशोरी, आठ महिनापछिका गर्भवती र भात बोकेर जान नपाइने अन्धविश्वासका कारण पुल तर्न स्थानीयलाई थप समस्या भइरहेको छ ।
अपायक र अन्धविश्वासका कारण केहीले ज्यान जोखिममा राखेर जीर्ण पुल तरेर जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ रहेको छ । “छाउ भएकाले सात/आठ दिनसम्म मन्दिरनजिक जान हुँदैन भनेर तलको पुल तर्दैनन्, हामीले त केही हुँदैन भनिरहेकै छौँ तर मान्दैनन्,” वडाध्यक्ष रामप्रसाद जैसीले भन्नुभयो ।
पुल चुँडिएर खच्चड अड्किएको खबर सरकार र संसद्सम्मै पुगेपछि स्थानीयले तत्कालै मर्मत हुने आस गरेका थिए तर सात महिना बितिसक्दा पनि पुल मर्मतको प्रक्रियासमेत अघि बढेको छैन । चुँडिएको पुल पुनः सञ्चालनमा ल्याउनका लागि स्थानीयस्तरमा प्रयास भइरहेको भए पनि माथिल्लो निकाय सकारात्मक नभएको वडाध्यक्ष जैसीको भनाइ छ ।
प्रतिकृया दिनुहोस