काठमाण्डौ – भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक कूटनीतिक पहल गर्ने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकमा पछिल्लो अवस्थालाई निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल गरेको हो ।
विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि सिर्जित समस्यामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्नुभएको थियो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो ।
नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरिसकेको छ । साथै घटनाको छानबिन गर्न ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मृतक छात्रा प्रकृति लम्साललाई कलेजमा अध्ययनरत एक विद्यार्थीले यसअघि पटक पटक दुव्र्यवहार गरेको विद्यार्थीले बताउँदै आएका छन् । आइतवार बेलुका उनी होस्टेलमा मृत भेटिएपछि अनुसन्धान र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गरेको थियो ।
विश्वविद्यालयले माफी मागेपछि विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीबीच उत्पन्न तनावको अवस्था सामान्य बन्दै गएको छ ।
नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् । शिक्षा मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने सम्मको चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस