काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको बताएका छन् ।
टुँडिखेलमा प्रजातन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री ओलीले हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको उल्लेख गरे ।
उनले आजको दिन यातनादायी र कहालीलाग्दो क्षणको स्मरणसमेत गरेका छन् । भावी पुस्ताले आजको दिनलाई बिर्सन नमिल्ने पनि बताए ।
ओलीले भने, ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता- अनुभव होइन, कथामात्र हो ! तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो !’
नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत २६, वैशाख ११, जेठ १५, र असोज ३ ले विशेष महत्व राख्ने बताउँदै प्रधानमन्त्री ओलीले ती सबै दिनभन्दा युगान्तकारी महत्व फागुन ७ ले राख्ने बताएका छन् ।
फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो ।
गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
जहानियाँ राणा तन्त्रको बर्बरता बिरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरु विशेष छन्- चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् ।
. तर ती सबै दिन भन्दा युगान्तकारी महत्व फागुन ७ गतेले राख्छ ।
२००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।
फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ ।
फागुन ७ गते !
आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।
हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ ।
यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी ग¥यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्यो ।
. समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्र्ष अघि बढायो ।
यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं ।
प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो !
. तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो !
पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ?! त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’
. जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरवार बनायो,
. प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो ।
निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र?!
. यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।
निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फाड्को मारेको छ । सामाजिक सुरक्षाका प्रवन्धहरु विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत् आफूलाई निर्वाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ ।
. स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरुको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।
१०४ वर्ष लामो निरंकुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ बर्षमा अनेक आरोह/अवरोह बीच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौं ।
. राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुन्छ ।
. सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ ।
‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो ।
हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौं ।
. बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं ।
हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत् उद्यमशीलताको थालनी गरिएको छ । युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ ।
. लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् ।
. लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौं ।
लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौं, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ ।
सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौं । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौं ।
फागुन ७ गतेले,
. सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न,
. वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र
. भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने छ ।
अन्त्यमा,
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन पनि हो ।
जहानियाँ निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।
धन्यवाद !
प्रतिकृया दिनुहोस