काठमाण्डौ – एप्पलले ‘आईफोन १६ ई’ सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रा फिचरयुक्त आईफोन बोक्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै आईफोन १६ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याएको कम्पनीले जनाएको छ ।
फोनको मूल्य ५९९ अमेरिकी डलर अर्थात् ८३ हजार रुपैयाँ हारहारीबाट शुरु हुनेछ । फोन खरिद गर्ने ग्राहकले तीन महिना निःशुल्क एप्पल म्युजिक, एप्पल टीभी प्लस, एप्पल अर्केड, एप्पल न्यूज प्लस, एप्पल फिटनेस प्लस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो मोडेलमा एप्पलकै पछिल्लो पुस्ताको ए १८ चिप प्रयोग गरिएको छ । यसबाट अरु आईफोन १६ मोडेलजस्तै छिटो र सहज रूपमा फोन चलाउन सकिने कम्पनीको भनाइ छ ।
त्यस्तै कम्पनीको नेक्स्ट जेनेरेसन एआई सिस्टम ‘एप्पल इन्टेलिजेन्स’ पनि यस मोडेलमा पाउन सकिन्छ । यसबाट विभिन्न अत्याधुनिक एआई फिचर प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
यस मोडेलले आईफोन ११ भन्दा ६ घण्टा र अरू पुराना आईफोन एसई मोडलभन्दा १२ घण्टा बढी ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।
यसमा वायरलेस चार्जिङ र फास्ट चार्ज हुने यूएसबी सी चार्जर पनि छ । यसमा भएको एआई प्रणालीले अक्षरलार्ई छोटकरीमा पढ्न र अनुवाद गर्न सघाउने पनि कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस