पूर्वराजालाई दण्डित गर्नुपर्ने डा. भट्टराईको माग, रवीन्द्र मिश्रले फर्काए कडा जवाफ

छिनोफानो   शुक्रबार ०९, फागुन २०८१ १२:०७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पूर्वराजाले हालै गरेको आह्वानमा समर्थन जनाउन सुझाव दिएका छन् । विगतमा भट्टराईले नै राजासँग सहकार्य गर्न सूत्रमार्फत प्रस्ताव गरेको उनले स्मरण गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ‘देश जोगाउनका लागि अब आफूलाई साथ दिन’ आह्वान गरेका थिए । उनको सो आह्वानले राजावादी नेताहरूलाई उत्साहित बनाएको छ । उनीहरू अब देशमा राजतन्त्र फर्काउन निर्णायक संघर्ष गर्ने बताउन थालेका छन् ।

यही सिलसिलामा मिश्रले कट्टर गणतन्त्रवादी नेता डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै एउटा भिडिओ मन्तव्य सार्वजनिक गरेका छन् । डा. भट्टराईले राजाको सम्बोधनमाथि तुच्छ अभिव्यक्ति दिएको भन्दै मिश्रले यो भिडिओ मन्तव्य जारी गरेका हुन् ।

डा. भट्टराईले हालै एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै पूर्वराजाको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । उनले पूर्वराजालाई सरकारले नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने माग गरेपछि गरेपछि मिश्रले जवाफ फर्काएका हुन् ।

अन्तरवार्तामा भट्टराईले यस्तो भनेका थिएः

ज्ञानेन्द्र शाहले निरन्तर यस्ता अभिव्यक्ति दिइराखेका छन् । हामीले लोकतन्त्रमा वाकस्वतन्त्रता हुन्छ भनेर उदार भएर उहाँलाई छुट दिएका हौं । यस्तो निरंकुश राजा, जसले दरवार हत्याकाण्ड गराएको धेरैले शंका गरिराखेका छन्, उनी राजा हुने मान्छे नै होइनन्, वंश नाश भएर यिनी आएका छन्, बडो शंकाका विषय छ । फेरि पनि हामीले देशको भू-राजनीतिक जटिलतालाई हेरेर गिजोल्याउन चाहेनौं । यिनले जबरजस्ती कु गरेर निरंकुश र अलोकतान्त्रिक हर्कत जनताले विर्सेका छैनन् । त्यसबाहेक आर्थिक हिसाबले पनि उनको लगानी अपचलनका कुराहरू जनतालाई थाहा छ । त्यसबाहेक बाह्य शक्तिसँग साँठगाँठ पनि गरेका छन्, जसले नेपालको संविधान, संघीयता र धर्मनिरपेक्षता रुचाइरहेका छैनन् ।

यो देख्दादेख्दै पनि किन विवाद गर्नु भनेर पो जनता चुप लागेको हो । जनताले बुझेकै छैन जस्तो गरेर पछिल्लोचोटि खुलेआम नै यो व्यवस्था उल्टाएर पछाडि फर्किन साथ देउ भनेर आह्वान गरेका छन् । त्यो अभिव्यक्तिमा उनी संविधानत: पनि दण्डको भागिदार छन् । उनको अभिव्यक्तिले सीमा नाघ्दै छ । सरकारले यसलाई गम्भीर ढंगले लिनुपर्छ र उनलाई आवश्यक नियन्त्रणमा लिनुपर्छ ।

चरम निरंकुशताको अभ्यास गरेर जनतालाई चरम गरिबीमा राख्ने त्यो राजतन्त्रको विरासत यिनले बोक्छन् । फेरि यिनको त वैधानिक विरासत पनि होइन । सन्देशहास्पद ढंगले आएका ज्ञानेन्द्र शाहलाई त राजतन्त्रको दाबी गर्ने पनि अधिकार छैन ।

दोस्रो कुरा, जनताको असन्तुष्टिभन्दा उनले जुन खालको हर्कत गरेका छन्, यो उनको मात्रै भएको भए पनि जनताले बुझ्थे । तर, मैले पाएको सूचना… तपाईं पनि विभिन्न स्रोतबाट बुझ्नुहोला । जसरी उनी पटकपटक लखनउ, गोरखपुर, थाइल्यान्ड, भुटान जान्छन्, नेपालको सरकारले यसको निगरानी गर्नुपर्यो । कोको सित भेटे, के के साँठगाँठ गरे भन्ने बुझ्नुपर्‍यो । उनले नेपालको संविधानविपरीत बाह्य शक्तिको उक्साहटमा जेजस्ता हर्कत गरेका छन् त्यसमाथि छानबिन र कारवाही गर्नुपर्छ भन्ने म सुझाव दिन चाहन्छु ।

भट्टराईको यही अभिव्यक्तिलाई मिश्रले तुच्छ संज्ञा दिएका हुन् ।

उनी भन्छन्, ‘पहिलो संविधानसभा चुनावको ठीक अगाडि कोही सूत्र प्रयोग गरेर माओवादी र राजा भएर सत्ता लिउँ, राजसंस्था स्वीकार्न तयार छौं भन्नुभएको हो कि होइन ? हामी मिलेर एमाले-कांग्रेसलाई पाखा लगाउँ भनेर संवाद गरेको हो कि होइन ? त्यो दोस्रो चरणको संवादमा प्रचण्डलाई समेत राखेर सोही सूत्रमार्फत राजासँग सत्ता कब्जा गरौं, कुनै प्रकृतिको राजसंस्था स्वीकार्छौं भनेको हो कि होइन ? त्यसैताका सांस्कृतिक राजा भए त फरक पर्दैन भनेर अन्तरवार्ता दिएको हो कि होइन ?

तपाईंको हातमा सत्ता आए राजसंस्था स्वीकार्य हुने, सत्ता नआए घनघोर गणतन्त्रवादी हुने ? यस्तो वाहियात कुराले यो देशको राजनीति वर्वाद भएको छ । प्रमाण चाहिन्छ भने तपाईंले प्रयोग गरेका सुत्र अझै जिवित छन् । यस्ता किसिमका काम तपाईं प्रधानमन्त्री भइसकेको मान्छेले नगर्दा राम्रो । अहिले राजाबाट कसैलाई निषेध नगरीकन सबै मिलेर देश बनाउँ भन्ने भावलाई त तपाईँजस्तो मानिसले समर्थन जनाउनुपर्ने हो । किनभने तपाईँहरूले चाहेको दिशामा देश गएको छैन नि !’

मिश्रले नाम उल्लेख नगरेका ‘सूत्र’ भने कमल थापा हुन् । थापा आफैंले यसको स्वीकारोक्ति गर्दै स्टाटस लेखेका छन् ।

उनी लेख्छन्, ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होईन, संविधानसभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको म मार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु