टीकापुर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टीकापुर शाखाले आफ्ना सेयर सदस्य दुर्गा देवी शाहको मृत्युपछी श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम गरेको छ । संस्थाका टीकापुर इलाका प्रमुख जयशंकर न्यौपानेको सभाअध्यक्षतामा गरेको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहन लुहार विक प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष लुहारले सहकारी संस्थाको यो सकारात्मक कदम भएको बताए । जिवित हुँदा घर परिवार चलाउन सहायता हुने उद्देश्यले कर्जा उपलब्ध गराउनुका साथै मृत्युपछि पनि सन्तानलाई कर्जाको अनुभूति हुन नदिइ सुविधा वितरण गर्नु राम्रो काम भएको भन्दै प्रशंसा गरे । उनले पछिल्लो समय सहकारीप्रती नागरिकमा वितृष्णा, असन्तुष्टि रहेकोमा यस्ता क्रियाकलापले नागरिकमा सहकारी प्रतिको आफ्नो बुझाइ सच्याउन मद्दत गर्ने बताउदै परिवारका सदस्यलाई पनि कर्जा रहेको चिन्ता नहुनुका साथै अन्य गतिविधिहरु सञ्चालन गर्न सहज हुने बताए ।
सभाका क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाले शाह परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाका टीकापुर शाखा प्रमुख चन्द्रकान्त रेग्मीले कार्यक्रम र सस्थाबारे बोल्दै मृतक शाहले संस्थाबाट एक लाख तीस हजार कर्जा लिएकोमा ६१ हजार ८९५ रुपैयाँ तिर्न बाँकी रहेको बताउदै उक्त रकम मिनाहा गरेको बताए ।
मृतक शाहले तिरेको ६८ हजार १०५ रुपैयाँसहित काजक्रिया लगायत गरेर परिवारलाई दुई लाख ७ हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको शाखा प्रमुख रेग्मीले जानकारी दिए । उनले अहिलेसम्म धेरै परिवारलाई मृत्युपछि पनि यसरी सुविधा वितरण गरिसकेको स्मरण गर्दै संस्थाले आफ्ना सदस्यको लागि सधैं भरी यस्ता सकारात्मक कामहरु गरिरहने बताए । उक्त रकम बराबरको चेक मृतक शाहका छोरा विशाल शाहलाई कार्यक्रमका प्रमुख अतिथी लुहारले हस्तान्तरण गरेका थिए । टीकापुर नगरपालिका १ ब्लक नं. २१ कि शाह आरक्षण किसान महिला विकास केन्द्रमा आबद्ध थिइन् । उनी गत फागुन १३ गते स्वर्गारोहण भएकी थिइन् ।
कार्यक्रममा सभाअध्यक्षको रूपमा रहेका संस्थाका इलाका प्रमुख न्यौपानेले सभालाई सम्बोधन गर्दै सहकारी संस्थाले आफ्ना सदस्यहरूको हकहितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हामीले जसरी पारिवारिक जिम्मेवारी बहन गर्छौं त्यसरी संस्थाले पनि आफ्ना सदस्यलाई आफ्नो परिवारको सदस्यको रुपमा लिएर दुखसुखमा साथ दिने गरेको बताए । समाजसेवी बद्री प्रसाद भट्टराई, पुण्य प्रसाद जैशी, हरि प्रसाद जैशी, केवल भण्डारी, करबिर बोहरा, प्रकाश भण्डारी, परम शाह, पत्रकार यज्ञराज उपाध्याय, केन्द्र नं. १६८८ का सदस्यहरु लगायत स्थानीय नागरिकहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल दिपेन्द्र बटालाले गरेका थिए ।
प्रतिकृया दिनुहोस