हेल्लो अछाम प्रहरी मजदुरले न्याय माग्न कहाँ जाने ?

पवन भण्डारी   बुधबार २६, चैत २०८१ ०१:२२

पवन भण्डारी,धनगढी । ५ बर्ष देखि आफूले काम गरेको ज्याला नपाएको भन्दै अछामको मङ्गलसैन ६, र ७ का मजदुरहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछाममा दुई बर्ष अगाडि निवेदन दर्ता गरे । सामान्य नागरिकले प्रहरी र प्रशासनमा पुगेपछि न्याय पाइन्छ भन्ने ठुलो आशा राखेका हुन्छन् ,र सोही आशा स्वरूप उनीहरूले ठेकेदार बाट आफ्नो काम गरेको ज्याला उपलब्ध गराई पाउ भन्दै निवेदन दर्ता गरे ।  

मिडिया मार्फत केही सहज हुन्छ कि भन्दै उनीहरूले छिनोफानो डटकमको कार्यालयमा समेत सम्पर्क गरि आफू माथि भएको अन्यायको बारे बताए । छिनोफानो डटकमले लगातार रूपमा जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सो विषय बारे जानकारी गराउँदै मजदुरको न्याएको लागि तपाईँको भूमिका कस्तो हुन्छ ? भनेर प्रश्न गर्दै समाचार सम्प्रेषण गरि रह्यो । 

 प्रहरी र सिडिओको लगातार एउटै जवाफ हुन्थ्यो । हामी ठेकेदारलाई बोलाएर मजदुरको पैसा दिलाउँछौ । तर विडम्बना त्यो जवाफ जवाफ सङ्गै दुई सिडिओको अछामबाट सरुवा भयो भने दुई जना डिएसपी समेत सरुवा भए तर मजदुरको निवेदन कुन ढड्डामा रहयो थाहा भएन । गत वैशाख मा नयाँ सिडिओको रूपमा आयका सिडिओ  शिव प्रसाद लम्साल लाई मजदुरहरू गएर पुनः भेट गरे । सिडिओ लम्सालले मजदुरका पीडा सुन्दै पुनः निवेदन प्रशासन र प्रहरी दुबैमा दिन भने । 

मजदुरहरुले अब न्याय मिल्छ कि भन्ने आशा गरेर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरे । त्यो बेला जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखमा ईश्वरी भण्डारीले कमाण्ड सम्हालेका थिए ।  मजदुरहरुले प्रहरीमा निवेदन दर्ता गरेको केही दिनमा प्रहरीले फरार ठेकेदार नर ब शाही लाई बोलायो र मजदुरलाई चेक श्रावण १० गते भित्र पैसा दिने भन्दै चेक दिए पछि छोडियो । साहीले प्रहरीलाई मजदुरको पैसाको चेक दिने भने पछि प्रहरी ठेकेदार साहीको विश्वासमा पर्‍यो ।

उनले श्रावण सम्ममा पैसा दिने भए ठिकै छ भन्दै मजदुरलाई चेक बुझ्न आग्रह गरे र मजदुरले चेक बुझ्न तयार भए । तर ठेकेदार शाहीले प्रहरीलाई समेत चलाखी गरे चेक होटेलमा छुटेको र त्यतै गएर चेक दिन्छु भने प्रहरीले सजिलै विश्वास गरे । तर अशिक्षित मजदुरलाई श्रावण १० को चेक भन्दै साहीले माघ ४ गतेको चेक दिए ।

जब श्रावण १) गते भयो मजदुर सो चेक लिएर बैकमा साट्न पुगे तर सो चेकको मिति श्रावण १० नभएर माघ ४ गतेको थियो । बैकका कर्मचारीले उक्त चेक माघ ४ गतेको हो भने पछि मात्र मजदुरलाई आफू ठगिएको थाहा भयो । मजदुरले आफूलाई ठेकेदारले ठगेको भन्दै प्रशासन मा सिडिओ लम्साल  र प्रहरीमा डिएसपी भण्डारीलाई भेट्न गए । तर सिडिओले  बडिमालिका दर्शन गर्न जादैछु आएर त्यो कुरा बारे छलफल गरौला भन्दै गए । मजदुर निराश भएर घर फर्किए । 

मजदुरले ठेकेदारले आफूलाई पुनः ठगेको भन्दै छिनोफानो डटकमलाई सम्पर्क गरे । छिनोफानो ले ठेकेदार साहीले प्रहरीलाई झुकाएर मजदुर लाई ठगे शीर्षक मा समाचार प्रकाशन गर्यो । डिएसपी भण्डारी  र सिडिओको भनाई छिनोफानोले लिएको थियो तर उनीहरूको भनाई एउटै थियो । हामी ठेकेदारबाट मजदुरको पैसा असुल गर्छौ तर मजदुरको पैसा असुल गर्न प्रहरी र प्रशासनले आश्वासन बाहेक अरू केही गर्न सकेन । छिनोफानो डटकमले पटक पटक मजदुरको समस्या प्रति गम्भीर बन्न आग्रह गर्दै आयको भए पनि सिडिओ लम्साल र डिएसपी भण्डारीले आश्वासन दिन बाहेक केही काम गरेनन् । जब माघ ४ गते पुनः मजदुर चेक बोकेर बैक पुगे तर बैकमा पैसा नै थिएन ।

ठेकेदार नरबहादुर साहीले आफूलाई ठगेको विश्वास गर्न मजदुरलाई अब अरू कुनै कुरा आवश्यक भएन । पैसा नभएका चेक सिरानीमा राखेका मजदुर भन्छन् अब कतै गएर न्याय मिल्दैन ,प्रहरीमा पुग्यौ,सिडिओ सङ्ग पुग्यौ दुई दुई निवेदन दर्ता गर्‍यौ तर ५ बर्ष भो काम गरेको पैसा पाएका छैनौ । काम गरेका कतिपय मजदुरको मृत्यु समेत भैईसकेको छ भने कतिपय रोजगारीको लागि भारत तथा अन्य देशमा छन । स्थानीय मजदुर रत्ना देवी जैसीले भनिन  छोरी र मैले काम गरेको करिब २० हजार पैसा लिन बाकी छ तर त्यो पैसा मिल्छ भन्ने आशा छैन । ठेकेदार प्रहरी सङ्ग मिलेका रैछन त्यसैले निवेदन दिँदा समेत हामी गरिबले न्याय पाएनौ । 

ठाडो निवेदनमा प्रहरीले वास्ता नगर्ने यो त नेपालको चलन नै हो, तर मजदुरको रगत पसिना माथि नै ठेकेदारले होली खेल्दा मौन बस्ने प्रहरी प्रशासनबाटै न्याय नपाएका मजदुरलाई न्याय अब कसले दिने ?

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?