प्रदेशको ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७९/८० मा २५२ सवारी साधन दुर्घटना भएको थियो भने २०८०/८१ म बढेर ३०९ पुग्यो । आर्थिक वर्ष २०८१/८२ मा बढेर १ हजार १५३ पुगेको छ । यस्तै विभिन्न प्रकारका सवारी साधन दुर्घटनामा परि बर्सेनि मृत्यु हुने र घाइते हुनेहरूको संख्या पनि बढिरहेको तथ्यांकमा उल्लेख छ । दुर्घटना बढेसँगै सवारी दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या पनि बढ्दै गएको छ । सुदूरपश्चिमको ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख भए अनुसार आव २०७९/८० मा भएको सवारी दुर्घटनामा परि १७७ जनाको मृत्यु ४७३ जना घाइते भएका थिए भने आव २०८०/८१ मा १७२ जनाको मृत्यु तथा ५३६ घाइते हुन पुगेका थिए । यो आर्थिक वर्ष अघिका दुई आर्थिक वर्षको तुलनामा १८५ जनाको मृत्यु भएको छ भने १ हजार ९३६ जना घाइते भएका छन् ।
‘विगतका वर्षको तुलनामा हालका वर्षमा मोटरसाइकल लगायतका दुईपांग्रे सवारी साधन बढी दुर्घटना हुन थालेको छ’ प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका डिएसपी टेकबहादुर जोराले भने, ‘दुर्घटनामा परि मृत्यु र घाइते हुनेहरूमा पनि मोटरसाइकल लगायतका दुईपांग्रे सवारी साधन प्रयोग गर्नेहरू नै बढी रहेका छन् ।’ उनका अनुसार सुदूरपश्चिमका ७ पहाडी जिल्लाको तुलनामा दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेहरूमा प्रदेशको दुई तराई जिल्ला कैलाली र कञ्चनपुरका बढी रहेका छन् । उहिले पहाडी जिल्लाहरूमा बस, मिनिबस र टक दुर्घटना बढी हुँदा एकैपटक मानवीय क्षति बढी हुने गरेकोमा हालका वर्षमा तुलनात्मक रूपमा ठूला चारपांग्रे सवारी दुर्घटनामा कमी आएको छ । मदिरा तथा लागूऔषध सेवन गरी ओभर स्पीडमा र ट्राफिक नियमको अवज्ञा गरी जथाभावी मोटरसाइकल लगायतका दुईपांग्रे सवारी चलाउने युवाहरूबाट बढी दुर्घटना हुने गरेको प्रहरी रेकर्डमा उल्लेख भएको देखिन्छ ।
हालका वर्षमा पहाडी रुटमा चल्ने कालो प्लेटका बस र ट्रक लगायतका ठूला सवारी साधन दुर्घटनामा कमी आएको प्रहरी रेकर्डमा देखिन्छ । तर मोटरसाइकल, स्कुटी तथा जिप कार लगायतका दुईपांग्रे र चार पांग्रे साना सवारी साधनको दुर्घटना बढ्दै गएको अवस्था ट्राफिक प्रहरीका लागि चुनौतीको विषय बन्दै गएकोछ । ‘यही वास्तविकता बुझेर स्कुल लेभल बाटै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौ’ डिएसपी जोराले भने, ‘स्कुल सम्पर्क कार्यक्रमदेखि तीव्र गतिलाई निरुत्साहित गर्न लिडार स्पीड गनको समेत प्रयोग भइरहेको छ ।’
‘तराईको चौडा सडकमा मोटरसाइकल आपसमै जुधेर दुर्घटना हुन थालेको छ’ पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको दैजीनजिक हालै भएको दुर्घटनालाई उल्लेख गदै डिएसपी जोरा भन्छन्, ‘चालकको लापरबाहीको यो चरम सीमा हो, रातिको समयमा लागु पदार्थ सेवनले हुने यस्ता खाले दुर्घटना नियन्त्रण गर्न प्रहरीका लागि चुनौतीपूर्ण रहेको छ ।’
सवारी कारबाही पनि नियमित भइरहेको छ । यस आवमा सवारी कारबाहीबाट सुदूरपश्चिम प्रदेशमा ४ करोड २५ लाख ४० हजार राजश्व संकलन भएको छ । अत्तरियास्थित प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार दुर्घटना न्यूनीरणका लागि राजमार्गमा छाडा चौपाया व्यवस्थापन, लागु औषध सेवन परीक्षण, लिडार गनको जाँच बिस्तार र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउँदै लग्नु जरुरी रहेको व्यवस्थापन कार्यालयका अधिकारीहरू बताउँछन् ।कान्तिपुरबाट
प्रतिकृया दिनुहोस