धनगढी । कञ्चनपुरमा झण्डै चार महिना अगाडि मृत फृला परेका लालझाडी गाउँपालिका– ४ जाई सिगलपट्टी शिविरका रामरेशर रानाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले हत्यामा रानाकी श्रीमतीसहित तीन जना संलग्न रहेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार रानाकी श्रीमती माया, उनका प्रेमी बेलौरी नगरपालिका–४ का पुन्ना राना र लालझाडी गाउँपालिका–४ की मानमती चौधरी रानाको हत्यामा संलग्न रहेको जानकारी दिए ।
‘प्रहरीले हत्यामा संलग्न भनिएका तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो,’ डीएसपी बोहराले भने, ‘तीनै जना प्रतिवादीले हत्या गरेको स्वीकार गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएका थियौं ।’
असार २६ गते जिल्ला अदालत कञ्चनपुरको आदेशले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश भएको थियो । तर, दुबै जनाले धरौट बुझाउन नसकेपछि कारागार चलान गरिएको डीएसपी बोहराले बताए ।
राना ०८२ वैशाख १७ गते घर नजिकै सडक छेउमा मृत फेला परेका थिए । भारतमा मजदुरी गर्दै आएका राना घर फर्केको १५ दिनमा मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार परपुरुषसंगको सम्बन्धका कारण रानाको हत्या भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती मायाबीच अनैतिक सम्बन्धले घटना निम्त्याएको हो । वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासंग आफ्नै घरमा देखेपछि झगडा भएको थियो ।
श्रीमानश्रीमतीबीच हातपात हुन थालेपछि बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको बयान पुन्नाले प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार घरबाट रामरेशरको शवलाई सडक छेउमा फाल्न माया र मानमतीले पनि सघाएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिकृया दिनुहोस