नक्कली लालपूर्जा बनाएको आरोपमा बुटवल मालपोतका अधिकृत पक्राउ

छिनोफानो   शनिबार ११, साउन २०८२ ०७:४१

बुटवल । नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनीसहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले पुरानो कित्ता जग्गा प्रकरणसँग सम्बन्धित मुद्दामा दुवैलाई पक्राउ गरिएको जानकारी दिए । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुटवल र भैरहवामा भएको किर्ते घटना फरक-फरक भएको प्रहरीले स्पष्ट पारेको छ ।

घटनामा संलग्न केही अन्य मालपोत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ । अहिले कुन स्थानको कुन कित्ता जग्गा किर्ते गरिएको भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

उनीहरूले सरकारी जग्गाको नक्कली लालपुर्जा तयार गरी ठूलो रकम लिई वितरण गर्दै आएका थिए । घटनाको प्रकृति गम्भीर रहेको र विस्तृत अनुसन्धानपश्चात थप संलग्न व्यक्तिहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु