बाजुराका कैदीबन्दीलाई अछाम र नेपालगञ्ज सरुवा

छिनोफानो   शुक्रबार ०३, असोज २०८२ ११:४७

बाजुरा । बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएकाे छ । कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।

कारागार बाजुराको भवन नयाँ निर्माण गरिने भएकाले उनीहरुलाई अछाम र नेपालगञ्जमा सरुवा गरिएको कारागार बाजुराले जनाएको छ । सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्राचार दिएको थियो ।

त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गरेको हो ।  त्यसपछि जिल्ला प्रशासनले यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँलाई पत्र पठाएको थियो ।

यतिबेला कारागार विभाग व्यवस्थापन काठमाडौँले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।

विंस.२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६७ जना कैदी तथा थुनुवा बस्ने गरेका थिए । कैदीबन्दीले पटक–पटक कारागार पुरानो र जीर्ण बन्दै गएको र यसकाे मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए ।

सघन सहरी विकासअन्तर्गतको पुनर्निर्माण प्राधिकरणको नौ करोड ३५ लाखमा यतिबेला बाजुरामा सुविधासम्पन्न कारागार निर्माण हुने प्रशासक अनिलकुमार तिवारीले बताए ।

उनले भने, “यसको सबै टेन्डर भएर असोजदेखि यसको काम सुरु हुने भएको छ । भवन निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले जिम्मा लिएको छ । त्यसले सबै काम सम्पन्न गरेपछि मात्र हामीले त्यसलाई अनुगमन गर्दै स्वीकृत गर्ने मात्र हो ।”

अहिलेको नयाँ बन्ने कारागारमा ७५ जना पुरुष र २५ जना महिला गरी जम्मा सय जना क्षमताको कारागार बन्ने भएको छ । यसकाे बाहिर प्रशासन, सुरक्षागार्ड भवन, शौचालय र  पर्खालभित्र खेल मैदान, खानेपानी र भौतिक संरचनाहरु रहने गरी नयाँ कारागार बन्न लागेको तिवारीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु