जेनजी प्रदर्शनपछि परिसर काठमाडौंको प्रहरी सेट नै परिवर्तन

छिनोफानो   शुक्रबार ०३, असोज २०८२ ०५:०६

काठमाडौं । जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी सेट परिवर्तन गरिएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार मात्रै परिसरका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको एकल काज सरुवा गरिएको छ । प्रदर्शनमा राम्रो सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनी आठ महिना नपुग्दै जिम्मेवारीबाट हटाइए ।

उनले गत माघको दोस्रो साता मात्रै परिसरको कमाण्ड सम्हालेका थिए । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दा काठमाडौं एसएसपीको कमाण्ड पनि उनैले गरेका थिए । त्यतिबेला पनि ठूलो सुरक्षा चुक भएको थियो । सुरक्षाकर्मीले राम्रोसँग चुनौती विश्लेषण गर्दै सुरक्षा योजना बनाउन नसकेको आरोप लागेको थियो ।

अहिले एसएसपी अधिकारीको ठाउँमा अर्थात परिसर काठमाडौंको कमाण्डमा एसएसपी रमेश थापालाई ल्याइएको छ । थापा प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा थिए । उनी प्रहरीमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन् । उनले यअसघि जिल्ला प्रहरी कार्यालय उदयपुर, कास्कीको प्रमुख भएर कमाण्ड गरिसकेका छन् ।

एसएसपी अधिकारीमात्रै होइन परिसरका एसपी, डीएसपीहरूको पनि सरुवा गरिएको छ । परिसरका एसपीद्वय अपील राज बोहरा र कुलदीप चन्दको पनि सरुवा गरिएको छ । बोहराको सशस्त्र प्रहरी गण नं. १ नक्सालमा सरुवा गरिएको छ ।

एसपी चन्दको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । अहिले परिसरमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहेका एसपी पवन कुमार भट्टराईलाई ल्याइएको छ । उनी अपरेशन कमाण्डमा दख्खल अधिकृतको रुपमा चिनिन्छन् । यसअघि परिसरमा दुई जना एसपी राखिएकोमा अहिले भने एक जना मात्रै खटाइएको छ ।

त्यसैगरी सिभिलको इन्चार्जको रुपमा परिसरमा खटिएका प्रह्लाद कार्की, डीएसपी मोहनमणि अधिकारी र अपरेशन कमाण्ड सुन्दर तिवारीको पनि परिसरबाट सरुवा गरिएको छ ।

डीएसपी मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वम्भूको इन्चार्जको रुपमा सरुवा गरिएको छ । तिवारीलाई साइबर ब्यूरो पठाइएको छ । डीएसपी कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु