काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवन मातहत इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महतविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दर्ता भएको छ।
३७ वर्षीया एक महिलाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी हुन्। प्रहरी स्रोतका अनुसार आरोपित इन्स्पेक्टर महतलाई हाल हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
जाहेरीअनुसार, पीडित महिला गत असोज १ गते व्यक्तिगत समस्या लिएर कार्यालय पुगेकी थिइन्। सो क्रममा ‘न्याय दिलाइदिन्छु’ भन्दै कफी खान बोलाई नजिकैको क्याफेमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। स्वास्थ्य अवस्था ठीक नभएको भन्दै अस्वीकार गर्दा पनि बल प्रयोग गरिएको उल्लेख गरिएको छ।
पहिलो घटनापछि उजुरी गर्ने तयारी गरिरहेकै बेला कार्यालयमै बोलाएर कार्यकक्षभित्र पुनः जबरजस्ती करणी र कुटपिटसमेत गरेको पीडितको दाबी छ।
जाहेरी दर्तापछि आफूलाई आरोपितका आफन्तबाट धम्कीसमेत आएको उनले गुनासो गरेकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय चितवनले औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रतिकृया दिनुहोस