डडेलधुरा, फागुन १० गते । डडेलधुरा सदरमुकाम डडेलधुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर वडा नं. ६ का स्थानीयले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । अमरगढी नगरपालिका–६ को एक जङ्गलमा भएको सार्वजनिक जमिन खरिद गरेर डम्पिङ साइट निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारीमा छ तर स्थानीयले यसको विरोध गर्दै आइरहेका छन् ।
बिहीबार स्थानीयले वडा नं. ६ को कार्यालय घेराउ गरी फोहोर व्यवस्थापनको कामलाई चाँडै अगाडि बढाउन माग गरेका छन् । फोहोर व्यवस्थापन नभए चुनाव नै बहिष्कार गर्ने चेतावनी उनीहरूले दिएका छन् । सङ्घर्ष समितिका अध्यक्ष गङ्गा ताम्राकारका अनुसार नगरपालिकाले सुरुमा सो क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो तर सोही स्थानलाई फोहोर व्यवस्थापन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालेपछि स्थानीयवासीले आपत्ति जनाइएका हुन् । नगरपालिकाले वास्तविक योजना लुकाएर स्थानीयलाई भ्रममा पारेको आरोप उहाँको छ । अध्यक्ष ताम्राकारले स्थानीयवासीको भावनाविपरीत निर्णय गर्न खोजिएको भन्दै निर्वाचन बहिष्कार गर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो । नगरपालिकाले सुरुमा कागती खेती गर्ने भनेर जनतालाई विश्वास दिलायो ।
अमरगढी नगरपालिका–६ को भजनपुरनजिकै रहेको गुनेगाड क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान नभएको स्थानीयको दाबी छ । सो क्षेत्रआसपास खानेपानीका मुहान, सिँचाइका स्रोत, विद्यालय जाने बाटो तथा बस्तीनजिकै रहेकाले वातावरणीय प्रदूषणले स्वास्थ्य जोखिम बढ्ने चिन्ता स्थानीयको रहेको छ ।
स्थानीयले त्यहाँ फोहोर व्यवस्थापन केन्द्र स्थापना भएमा जनस्वास्थ्य, बालबालिकाको शिक्षा तथा दैनिक जीवनमा गम्भीर असर पर्ने दाबी गरेका छन् । स्थानीयवासीले पटक पटक विरोध कार्यक्रम, छलफल तथा ध्यानाकर्षण गराउने प्रयास गरे पनि नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया नआएको गुनासो छ । बिहीबार आयोजित घोषणा सभामा करिब तीन सयभन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको उहाँले बताउनुभयो । भेलाले सर्वसम्मत रूपमा आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी सङ्घर्ष समिति अध्यक्ष ताम्राकारले जानकारी दिनुभयो । स्थानीयको माग सम्बोधन नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गरिने चेतावनी उहाँको छ ।
प्रतिकृया दिनुहोस