बेलायत भ्रमणबाट फर्के लगतै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गराउनका लागि पत्र पठाइसकेको खुलासा गरेका छन् ।
स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर बिहीबार बिहान काठमाडौं आइपुगेका देउवाले त्रिभुवन विमानस्थलमा यस्तो खुलासा गरेका हुन् । एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गोमै भएको भेटका क्रममा आफूले यस्तो जवाफ दिइसकेको देउवाले जानकारी गराएका छन् ।
‘एमसीसीका डेपुटी सिइओले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयो,’ देउवाले अगाडि भने, ‘यहाँका सत्ता साझेदार दलसँग यस बिषयमा कुराकानी भइरहेको छ भनेको छु ।’ देउवाले केही अध्यादेश ल्याउनुपर्ने भएकाले संसद रोकिँदा एमसीसी पास हुन नसकेको जवाफ पनि आफूले दिएको पत्रकारहरुलाई बताएका छन् । एमसीसी कार्यकारी अधिकृत ल्याटोर्तुसँग देउवाले मंगलबार भेटेका थिए ।
’केही अध्यादेश ल्याउनुपर्ने कारणले संसद रोकिएको हो’, उनले भने, ’यही भनेर प्रचण्डजी र मैले हस्ताक्षर गरेरै पत्र पठाएका छौं । यसले फरक पर्दैन भनिसकेको छु ।’ देउवाले एमसीसीलाई सत्ता गठबन्धनसँग मिलेरै अघि बढाउने पनि आफूले बताएको उल्लेख गरेका छन् । एमसीसी सम्झौता कार्यान्वयन हुने आश्वासन आफूले दिएर आएको बताएका देउवाले संसद अधिवेशन अन्त्यका कारण केही ढिला भएको पनि उल्लेख गरेका छन् ।
एमसीसी पास हुने विश्वासमा रहेको अमेरिका पछिल्लो समय सरकारले संसद अधिवेशन अन्त्य गरिदिएपछि असन्तुष्ट रहेको छ । दुई महिनाअघि उच्चस्तरीय टोली नेपाल पठाएको अमेरिकाले स्कटल्यान्डमा पनि टोली पठाएर पास गराउन देउवामाथि दबाब बढाएको हो ।
यसअघि संसद् अधिवेशन अन्त्य गरिए लगत्तै एमसीसी मुख्यालयले विज्ञप्ति निकालेर सम्झौता अघि बढाउने–नबढाउने निर्णय गर्न पनि नेपाललाई भनिसकेको छ ।
प्रतिकृया दिनुहोस