धनगढी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। ४, कैलालीका उम्मेदवार लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विहिवार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
प्रतिबद्धता पत्रमा उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्लाको समग्र विकासलाई केन्द्रमा राखेर योजनाहरू अघि सारिएको उल्लेख छ ।
शिक्षा, स्वास्थ्य तथा खेलकुदमा विशेष योजना
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उल्लेख छ । शिक्षक तथा कर्मचारीको सेवा–सुविधा सुधार, पेशागत सुरक्षा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल गरिने प्रतिबद्धता जनाइएको छ ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिकमा विशेषज्ञ सेवा विस्तार, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिइने जनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६०० शय्याको अस्पतालका रूपमा विकास गरी एमबीबीएस अध्ययन सञ्चालनका लागि पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कृषि आधुनिकीकरण र किसानमुखी कार्यक्रम
कृषकलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउ, मल तथा यान्त्रिकीकरणमा जोड दिइने जनाइएको छ। सिँचाइ सुविधा विस्तार, कृषि उपजको उचित मूल्य निर्धारण, कृषि बीमा र कृषि आधारित उद्योग स्थापना गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । आवश्यक रासायनिक मलको उपलब्धताका लागि उत्पादन केन्द्र स्थापना गर्ने योजना समेत समावेश छ ।
तरकारी तथा फलफूल पकेट क्षेत्र विकास, कृषि उपज भण्डारणका लागि शीत भण्डार निर्माण तथा कृषिमा आधारित बजार व्यवस्थापन गर्ने कार्यक्रम अघि सारिएको छ। स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि किसानलाई बीउ, बिजन र मलखाद सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
औद्योगिकीकरण र रोजगारी सिर्जना
औद्योगिक क्षेत्र विस्तार, हरेक औद्योगिक कोरिडोर विकास तथा कृषि ज्ञान केन्द्र स्थापना गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ । दलित, पिछडिएका समुदाय तथा गरिबीको रेखामुनि रहेका नागरिकका लागि सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउने कार्यक्रम समेटिएको छ ।
धर्म, संस्कृति र पर्यटन प्रवद्र्धन
क्षेत्रभित्र रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थललाई धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गरिने उल्लेख छ । थारू, मगर लगायतका समुदायको सांस्कृतिक सम्पदाको संरक्षण तथा सांस्कृतिक संग्रहालय स्थापना गर्ने योजना अघि सारिएको छ । होमस्टे प्रवद्र्धन, नेपाल ताल लगायतका तालतलैयाको संरक्षण र पर्यटन प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम समावेश छ ।
भौतिक पूर्वाधार र सडक सञ्जाल विस्तार
निर्वाचन क्षेत्रभित्र आवश्यक सडक निर्माण, स्तरोन्नति र विस्तार, मोटरेबल पुल तथा झोलुंगे पुल निर्माणका लागि पहल गरिने जनाइएको छ । बाढी, पहिरो तथा नदीजन्य कटानबाट प्रभावित क्षेत्र संरक्षणका लागि तटबन्ध निर्माण गरिने योजना पनि समावेश छ । विद्युतीकरण नभएका बस्तीमा विद्युत विस्तार र खानेपानी व्यवस्थापनमा जोड दिइने प्रतिबद्धता जनाइएको छ ।
उम्मेदवारले लोकतन्त्रको मूल आधार जनमत भएको उल्लेख गर्दै विकास, स्थायित्व र समृद्धिका लागि आफूलाई पुनः निर्वाचित गराउन मतदातासँग अपिल गरेका छन् । क्षेत्रको समग्र विकासका लागि सबै नागरिकको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आफ्नो प्रतिबद्धता कार्यान्वयनमा ल्याउने दाबी गरिएको छ ।
प्रतिकृया दिनुहोस