सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्वबारे जानकारी गराउँदै भन्दै सर्कुलर पठाएका हुन् ।
महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल विभाजन पश्चात पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आंकलन गरी केन्द्रमा पठाउन निर्देशन गरिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।
सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । पेशा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरुको तथ्यांक राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ ।
स्थानीय तहलाई आफैं घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, कांग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ । आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस