सुदूरपश्चिमका बासिन्दा ‘बिसु’ मनाउन घर फर्किँदै

छिनोफानो   मङ्गलबार २५, चैत २०८१ ११:५९

बैतडी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाटमा हिजोआज चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेपछि चहलपहल बढेको हो ।

सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा मनाइने भएकाले काम गर्न भारत गएकाहरू फर्किन थालेका छन् । झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायत जिल्लावासी बिसु मनाउन घर फर्कन थालेका छन् ।

दैनिक घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको  झुलाघाट बजारका व्यापारी हरिदत्त जोशीले बताउनुभयो । सुदूर पहाडका धेरै बासिन्दा मजदुरीका लागि भारतका विभिन्न शहरमा जाने गरेका छन् ।

उनीहरु बिसु पर्वमा भने घर फर्कने गरेका छन् । गहुँ छरेर मजदुरी गर्न भारत पस्नेहरु यतिबेला घर फर्किने गर्छन् । झुलाघाट र सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने गाडीमा पनि यात्रुको चाप बढेको छ ।

नयाँ वर्ष घरपरिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का गणेश विष्टले बताउनुभयो ।

बिसु पर्व विशेष गरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । बिसुमा सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।

शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास गरिँदै आएको छ । बिसु पर्व अघि नै घर रातो माटो र कमेरो लिपपोत गर्ने गरिन्छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु