कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट १८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही स्थानका २४ वर्षीय गणेश बि.क.लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट १ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–६ बस्ने ३८ वर्षीय प्रेमलाल राना र ४३ वर्षीय मागुराम चौधरी रहेका छन्।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी पचुईबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो। प्रहरीले लागूऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै जनामाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस