धनगढी । कैलालीको अत्तरिया बजारस्थित दुर्गा मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बुधवार बिहान अन्दाजी ३६–३८ वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखासमेत फुटेको अवस्थामा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएको थियो ।
मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फकिएको बताउनुभएको छ । स्थानीयवासीका अनुसार बुधवार बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा प्रहरीलाई जानकारी गराउनुभएको थियो । घटनाका बारेमा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीयबासीले तीव्र असन्तुष्टि जनाएका छन्।
शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान नखुलेको समेत प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस