गैरिटाँड–बाँसकाडा सडक कालोपत्रे हुँदै

छिनोफानो   आइतबार ३०, चैत २०८१ १२:४५

अछाम,  । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको चिसापानी जङ्गलघाट बडीमालिका सडक स्तरोन्नति आयोजनाको निमार्ण तीव्र गतिमा भइरहेको छ ।

चिसापानी जङ्गलघाट बडीमालिका अन्तर्गतको गैरिटाँड–कमलबजार–बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रेको कामको पहिलो चरण काम भइरहेको हो ।

सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र पिके निमार्ण सेवा प्रालिबिच ६९ करोड ४३ लाख ५३ हजारलागतमा आगामी २०८२ पुस मसान्तसम्म पूरा हुने गरेर गत वर्ष २०८० असार १८ गते सम्झौता भएको थियो ।

ठेक्का अवधिभित्रै कालोपत्रेको सम्पन्न हुने गरेर काम सञ्चालन भइरहेको पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माले बताउनुभयो । 

कमलबजारमा व्यवसाय गर्दै आउनुभएका स्थानीय कर्ण भण्डारीले सडक कालोपत्रेको काम अगाडि बढेपछि हिउँदमा धुलो र बर्खामा हिलोबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अछामलगायतका जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यो सडक कालोपत्रे भएमा विकासको ढोका खुल्ने बताउँदै सडक कालोपत्रेको काममा स्थानीय सरकारले समन्वय गरिरहेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो । 

चिसापानी जङ्गलघाट मङ्गलसेन सडक सञ्जाल जोड्नका लागि सुर्खेतको पञ्चपुरी र अछामको तुर्माखाद गाउँपालिकाको सिमाना जङ्गलघाटस्थित कर्णाली नदीमाथि पक्की पुल निर्माण पनि भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु