कैलाली, वैशाख २ गते । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१-७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् ।
यी आयोजनाबाट करिब रु दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ग्रिष्म थापाले बताउनुभयो ।
थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन नसक्नुका साथै एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतिर नागरिकले स्वच्छ पिउने पानी पाउन नसकेका उहाँले बताउनुभयो । यी आयोजना सम्पन्न गर्न सरकारले पर्याप्त बजेट विनियोजन गरेमा एक वर्षमा सम्पन्न हुनसक्ने उहाँको भनाइ छ ।
कार्यालयका अनुसार सङ्घीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलाली र कञ्चनपुरमा सञ्चालित कतिपय आयोजनाका भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन ।
बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार रु १० करोडका आयोजनामा वार्षिक रु दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा काम सम्पन्न गर्न अझै वर्षौं लाग्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस