धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निःशुल्क शल्यक्रिया गर्दै

छिनोफानो   बिहिबार ०४, बैशाख २०८२ ०१:२१

धनगढी । धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निःशुल्क परीक्षणपछि शल्यक्रिया पनि गरिरहेको छ ।

२५ देखि २९ चैतसम्म धनगढीको विभिन्न पाँच ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर तीन दिनसम्म बिरामीको आयुर्वेद पद्धतिअनुसार शल्यक्रिया गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये ५३ जनाको पायल्स, फिसर र फिस्टुलाको छारसुत्र विधिबाट शल्यक्रिया गर्न सिफारिस गरिएको थियो । उनीहरु मध्ये १६ जनाको ३ बैशाखमा शल्यक्रिया भइसकेको छ भने बाँकीको ४ र ५ बैशाखमा उर्मा आयुर्वेद औषधालयमा शल्यक्रिया हुने आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डाक्टर रविन्द्रकुमार यादवले जानकारी दिए ।

उपमहानगरपालिकाले हरेक महिना वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै समय–समयमा क्यान्सर लगायतका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यो पटक पायल्स, फिसर फिस्टुलाका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र शल्यक्रिया गरिरहेको हो । अहिले काठमाडौंको किर्तिपुर आयुर्वेद अस्पतालका आयुर्वेद सर्जन डाक्टर मदन भण्डारीले बिरामीको शल्यक्रिया गरिरहेका छन् ।

उपमहानगरपालिकाले यसअघि २५ देखि २९ चैतसम्म वडा नम्बर ४, १०, ११, १६ र १८ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा दुई सय ५६ जना बिरामीलाई उपचार तथा परामर्श सेवा लिएका थिए । उनीहरु मध्येकै बिरामीको निःशुल्क शल्यक्रिया भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु