धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख र अन्य प्रमुख कार्यालयका प्रमुखसँग महत्वपूर्ण बैठक गरेका छन्।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रदेशको शान्ति सुरक्षा, भन्सार चेकजाँच, आवागमन सहजीकरण, राजश्व संकलन र लागुऔषध नियन्त्रण जस्ता प्रमुख मुद्दामा छलफल गरिएको थियो।मुख्यमन्त्री शाहले प्रदेशको शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण, सडक दुर्घटनामा कमी ल्याउने र पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्ने निर्देशन दिएका छन्।
उनले जनतालाई राज्यबाट प्रदान गरिने सेवासुविधामा सहज पहुँचको वातावरण निर्माण गर्न र सर्वसाधारणलाई सम्मानजनक सेवा प्रवाह गर्ने पनि बताए।बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशमा शान्ति सुरक्षाको स्थिति सामान्य र चुस्त रहेको जानकारी दिएका छन्। बैठकले आगामी दिनहरूमा शान्ति सुरक्षामा सुधारका लागि संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।
साथै, प्रदेशस्तरमा सुरक्षा सम्बन्धी बैठकलाई मासिक रूपमा सञ्चालन गर्ने र भन्सार चेकजाँच तथा सीमापार आवागमन सहजीकरणका लागि थप सुधार ल्याउने निर्णय पनि गरियो।बैठकले रोजगारका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि एक समिति गठन गर्ने निर्णय गरेको छ।यस समितिमा विभिन्न सरोकारवाला कार्यालयका प्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरू समावेश हुनेछन्।बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, नेपाली सेना, सुदूरपश्चिम पृतना हेड क्वाटर उपरथी प्रकाश देउजा, र विभिन्न सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
प्रतिकृया दिनुहोस