कैलाली । सुदूरपश्चिम प्रदेश सभा बन्द छ । सत्तारुढ दल र प्रतिपक्षबीच सहमति हुन नसक्दा सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको थियो । प्रदेश सभा अधिवेशन अन्त्य गरेको सरकार अहिले भारत भ्रमणको तयारीमा जुटेको छ । आगामी १६ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत जान लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत भ्रमणमा जान लागेको हो ।
उक्त टोलीमा सरकारका तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन् । कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन् ।
मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डा।जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन् । सुदूरपश्चिम प्रदेश सरकारले २५ जनको टोलीलाई भारत भ्रमणमा लैजाने तयारी गरेको थियो । तर, दूतावासले १० जनाको मात्रै नाम स्वीकृत गरेपछि मुख्यमन्त्री शाहसहित १० जना भारत जाने भएका हुन् ।
‘२५ जना लैजाँदा उपयुक्त हुन्छ भनेर हामीले प्रस्ताव गरेका थियौँ । त्यसमा सबै पक्षको सहभागिता हुने थियो । तर, दूतावासले १० जनाको मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि सबै दल समेटिने गरि १० जनाको नाम उपलब्ध गराइएको हो’ मुख्यमन्त्रीका राजनीतिक सल्लाकार डा। उपाध्यायले जानकारी दिए । उनका अनुसार भारत भ्रमणका क्रममा कृषि ,पर्यटन र ऊर्जाको विषयमा छलफल र संवाद हुने छ । मुख्यमन्त्रीले केही दिन पहिले मात्रै मन्त्रिपरिषद् बैठकमा भारत भ्रमणबारे औपचारिक जानकारी दिएका थिए । तर, अहिलेसम्म पनि भारतका कुन कुन ठाउँमा टोलीले भ्रमण गर्ने र को कोसँग छलफल वा भेटघाट गर्ने भन्ने बारे टुङ्गो लागेको छैन ।
प्रदेश सभा अन्त्य गरेर सरकार भ्रमणको तयारी गरिरहेको भन्दै प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री ओम विक्रम भाट सरलले सामाजिक सञ्जालमै प्रदेश सरकारको भ्रमण तयारीबारे विरोध जनाएका छन् । ‘सुदूरपश्चिम प्रदेश सरकार जोडिएको अडियो काण्ड र फजुल खर्च कटौतीको बिषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको कुरा विदितै छ ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर भ्रष्टाचारमा सरकार मुछिएको छ भने अर्कोतिर बजेट कार्यान्वयन गर्न सकिरहेको छैन । यसै समयमा प्रदेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा जम्बो टोली १० दिने भारत भ्रमणमा जाँदै छ । ’
उनले भ्रमणको औचित्यमाथि पनि प्रश्न गरेका छन्। ‘यसको औचित्य के हो पुष्टि गर्नुपर्छ कि पर्दैन रु संसद् आह्वान गरेर संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन रु वर्तमान शाह नेतृत्वको प्रदेश सरकार छानबिन र जबाफदेहिताबाट निरन्तर भागिरहेको छ । त्यसकारण सबैले खबरदारी गरौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिकृया दिनुहोस