कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

छिनोफानो   मङ्गलबार १६, बैशाख २०८२ ०७:४४

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए । उक्त मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताए ।

झाडापखालको उपचार गराउन गएका सोही ठेगाना भएका खडकबहादुर साउँदले भने “मलाई सलाइन चढाएपछि निरज भाइलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने बित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”

बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गरे । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरे पनि उहाँको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाए । मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाइँ मेडिकल गएको बताए । शाहीले भने “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्‍यो। केहि नभएको मेरो ज्वाइँको मृत्यु कसरी भयो र ? सुई लगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ ।”

निरजको निधन भएको केहि क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।

घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक इन्द्र दहितले जानकारी दिए । शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु