काठमाडौं । नेपाल प्रहरीले आर्थिक बर्षको अन्तिममा गरेको लत्ताकपडालगायत २२ करोड रुपैयाँ बराबरको सामान खरिद सेटिङमा गर्न लागेको छ ।
प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले गएको चैत २९ गते म्याट्रेस, रुकस्याक ब्याग, सस्पेन्सन बेल्ट, ज्याकेट, ब्यान्ड ड्रेस सेट, स्मल मेसिनरी आइटम, डिजिटल फरेन्सीक इक्युपमेन्टसहित ७ किसिमका सामान खरिदको टेण्डर गरेको थियो ।
पाँच गुणा भन्दा बढी मूल्यमा अधिकारीलाई बेतको लौरोको ठेक्का दिने तयारीमा प्रबन्ध निर्देशनालय लागेको छ ।
प्रहरीमा बिगत केही बर्षदेखि ज्ञानेन्द्र बस्नेत र श्रवण अग्रवालले सेटिङमा खरिदको ठेक्का कब्जा गर्दैआएका छन् ।
चालु आर्थिक बर्षमा यसअघि ६८ करोड बराबरको ठेक्का बस्नेतको समूहले लिएको थियो भने अहिलेको २२ करोडको पनि उनैले पाउने निश्चित भएको छ ।
प्रहरीले १० करोड रुपैयाँबराबरको म्याट्रेस, ५ करोड ९१ लाखको रुकस्याक ब्याग, २ करोड ३७ लाखको ट्राफिक प्रहरीको सस्पेन्सन बेल्ट, १ करोड ८८ लाखको ज्याकेट, ४३ लाखको ब्यान्ड ड्रेस सेट, २२ लाख २४ हजार स्मल मेसिनरी आइटम्स र ४८ लाख रुपैयाँ बराबरको डिजिटल फरेन्सिक इक्वीपमेन्ट खरिदका लागि टेण्डर गरेको थियो ।
यी सामानमध्ये म्याट्रेस बस्नेतलाई र रुकस्याक ब्याग टोपेन्द्र बीसी र श्रवण अग्रवालको कम्पनीलाई दिनेगरी अग्रिम सेटिङ भएको स्रोतको दाबी छ ।
खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ष्ण सापकोटाको कार्यकाल सकिन २ दिनमात्र बाँकी भएकाले यो मुद्दामा प्रहरीकै पक्षमा आदेश गराउन ज्ञानेन्द्र बस्नेतसहितका ठेकेदारहरुले चलखेल गरेको स्रोत बताउँछ ।
लत्ताकपडा खरिदमा सेटिङ भएको बिषयमा आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी सुशीलसिंह राठौरसंग अनलाईन नेपालले प्रतिकृया माग्दा
सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा परेको बताए ।
सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले प्रहरीको ठेक्काका बिषयमा समितिमा मुद्दा परेको बताए । उनले भने– ‘निर्णय हुन्छ । प्रोसेसमा छ ।’
आजै हुन्छ निर्णय भन्ने जिज्ञासामा उनले भने–‘ सुनुवाई जारी छ , आज हुन्न होला ।’
तपाईको कार्यकाल सकिन लागेकाले फाष्टट्रयाकमा निर्णय हुन लागेको हो भन्ने प्रश्नमा सापकोटाले भने–‘हाम्रै कार्यकालमा मुद्दा परेकाले हामीले हेरेका हौं । कार्यकाल सकिन लागेकाले छिटोछिटो हेरेको होइन ।’
केही ठेकेदारहरुले चलखेल गरेको बारेमा उनले भने–‘कागजातहरुको आधारमा हामीले मुद्दामा निर्णय गर्ने हो, चलखेलका आधारमा होइन ।’
प्रतिकृया दिनुहोस