डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्गको हाल अहिले बेहाल छ । राजमार्गको मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम पूरा नहुँदा करिब २० किलोमिटरको यात्रा सास्ति पूर्ण छ । मालसामान र सवारीका साधान आउजाउमा दुर्घटनाको जोखिम उच्च छ ।
सडक मर्मतको काम सुस्त हुँदा सवारी आवतजावत जोखिमपूर्ण बनेको छ भने सर्वसाधारणले दैनिक सास्ती खेप्दै आइरहेका छन । भिमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा फुटेको सडक खनेर छोडिएको छ । बर्खाको यो समयमा सडक खनेर छोडिदा ठूला ठूला खाल्टा भएका छन् । यी क्षेत्रमा सडक हिलाम्मे हुदा गाडी ओहोर दोहोर गर्न निकै समस्या हुने गरेको छ ।
ठूला गाडीभन्दा साना गाडीहरु सञ्चालन गर्न निकै कठिन भएको हाईस चालक हरि साउदले गुनासो गर्नुभयो । अप्ठ्यारो सबैलाई भएको छ । खाल्टा खुल्टि र हिलोका कारण यो क्षेत्रमा दुई घण्टासम्म ढिला हुने गरेको छ । गाडीहरु हिलोमा फस्छन । उहाँले भन्नुभयो, ‘‘हाम्रा साना गाडीको तल ईञ्जिन भएको भाग ठोकिन्छ र बिग्रने हुँदा खर्च बढेको छ ।’’
निर्माण कम्पनीले ग्रावेलसमेत नहालेपछि सडक हिलाम्मे बनेको छ । सडकमा पानी जमेर खाल्डाखुल्टी थप गहिरिएका छन् । सवारी चालक करन दियालका अनुसार बर्खामा यो सडक खण्ड भएर आउजाउ गर्नु सवारी साधन नै जोखिममा पार्नु हो । कतिपय ठाउँमा गाडी फस्ने र बिग्रने समस्या भइरहेको छ ।
सवारी चालक रमेश अवस्थीले दुखेसो पोख्दै भन्नुभयो, ‘‘सडक मर्मत भन्दै खनियो तर ग्रावेल हालिएन । अहिले झनै हिलाम्मे छ । यात्रुहरुले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ ।’’
सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यो सडक खण्डको मर्मत दुई पटक टेण्डर भएको थियो । तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा सडकको बेहाल भएको हो । राजमार्ग समयमै मर्मत हुन नसक्दा समस्या भएको गुनासोपछि सडक डिभिजन कार्यालयले अनुगमन गरी ग्रावेल हाल्न लगाएको सडक डिभिजन कार्यालय कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो । तर सडकको अवस्था जस्ताको त्यस्तै छ । वर्षाका कारण ग्रावेल हिलोेमा परिणत भएको छ ।
उहाँका अनुसार चैत महिनादेखि नै लगातार वर्षा भइरहेका कारण निर्माण कम्पनीले काम गर्न नसकेको हो । यो सडकखण्ड डडेल्धुराको सबैभन्दा अग्लो स्थान महाभारत पर्वतको करिब दुई हजार मिटरको उचाईमा पर्छ । यहा कात्तिक महिना देखि फागुन महिनासम्म नै हिमपात हुन्छ । चैत महिना लागेपछि काम गर्न मिल्छ । तर यस वर्ष चैत महिनादेखि लगातार रुपमा वर्षा भएका कारण यो सडक खण्ड मर्मत गर्न नसकिएको हो ।
प्रतिकृया दिनुहोस